७ आश्विन २०८१, सोमबार

जसपाद्वारा संसदीय दलको विधान पारित

प्रकाशित मिति :  27 July, 2021 4:08 pm


काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको विधान पार्टीबाट पारित गराएको छ ।

यसअघि संसदीय दलले पारित गरेको सो विधानलाई मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणीको बैठकबाट पारित गरिएको हो ।

जसपाको पार्टी विधानअनुसार संसदीय दलले पारित गरेको विधानलाई केन्द्रीय कार्यकारिणीले अनुमोदन गराउनुपर्ने प्रावधानलाई पूरा गरी यो विधान पारित गरिएको हो ।

यसैगरी केन्द्रीय कार्यकारिणी बैठकले पार्टी संसदीय दलको नेताको निर्वाचन गर्न एक तीन सदस्यीय समिति पनि गठन गरेको छ । नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ रहने गरी सो समिति बनाइएको हो ।

पार्टीको कार्यालय सचिवको जिम्मेवारीमा रहेका कार्यकारिणी सदस्य प्रकाश अधिकारीलाई निर्वाचन आयोग र अदालतमा मुद्दा–मामिला हेर्ने जिम्मेवारीसमेत दिने निर्णय बैठकले गरेको छ ।

अध्यक्ष महन्थ ठाकुर पक्षका सदस्यहरूले निर्णय गर्न नदिएर बाधा हाल्ने गरेकोमा अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगसँग कार्यकारिणी अधिकारको आधिकारिता माग गर्दा सोमबार मात्रै जसपाभित्र लामो समयदेखि चलिरहेको पार्टी आधिकारिकताको विवाद टुङ्गिएको थियो ।

केन्द्रीय कार्यकारिणी सदस्यको हेड काउन्ट गर्दै निर्वाचन आयोगले पार्टीको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने फैसला गरेको थियो । त्यसलगत्तै मंगलबार पार्टीको केन्द्रीय कार्यकारिणी बैठक बसेर संसदीय दलको विधान पारित गरेको हो ।



प्रतिक्रिया दिनुहोस !