७ आश्विन २०८१, सोमबार

मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने सत्तारुढ गठबन्धनको सहमति,साझा नीति तथा कार्यक्रममा जोड

प्रकाशित मिति :  28 July, 2021 11:48 am


फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । सत्तारुढ गठबन्धनबीच छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने समझदारी भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा देउवा नेतृत्वको सरकारलाई छिट्टै पूर्णता दिने सझदारी बनेको    हो ।

गठबन्धनमा रहेका नेकपा एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीले ठोस निर्णय गर्न सकेका छैनन् भने मन्त्री बन्ने आकांक्षी धेरै भएपछि कांग्रेस र माओवादी केन्द्रलाई पनि समस्या भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन माओवादी केन्द्रबाट २ जना र कांग्रेसबाट २ जना थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

साउन १० गते स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएपनि २५ सदस्यी मन्त्रिपरिषद्ले अझै पूर्ण ता पाउन सकेको छैन । गठबन्धनको बैठकपछि कांग्रेसका महामन्त्री पूर्णबहादुरु खड्काले भने,“अहिलेसम्म सरकारले गरेका कामकारबाहीको समिक्षा भएको छ, अब मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिनेबारे पनि कुराकानी भयो, कहिले बिस्तार गर्ने भन्ने ठोस निर्णय भएको छैन, छिट्टै हुन्छ ।”

बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ । माओवादी केन्द्र, जसपा लगायतका दलले छिट्टै सरकारको साझा नीति तथा कार्यक्रम तय गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीलगायतको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस !