नेपालमा गाँजा प्रतिबन्ध गराउन अमेरिकी लगानी !
काठमाडौं । नेपाललगायतका दक्षिण पूर्व र दक्षिण पश्चिमका देशहरूमा गाँजा बन्द गराउन अमेरिकाले पचास वर्षअघि अहिलेको विनिमयमा अर्बौं अमेरिकी डलर खर्च गरेको एक पुस्तकले खुलासा गरेको छ।
सन् ७० को दशकमा नेपाल, भारत, अफगानिस्तान लगायतका देशहरूमा गाँजा, भाङको प्रयोगमा बन्देज थिएन ।
अमेरिकाले यी वस्तुहरूको प्रयोगमा बन्देज लगाउन यी देशका शासकहरूलाई ठूलो रकम दिएको ‘द किङ अफ नेपाल : लाइफ विफोर द ड्रग वार्स‘ नामक पुस्तकमा जोसेफ पियट्रीले खुलासा गरेका छन् ।
पियट्री ७० को दशकमा नेपालमा बसेर गाँजाको कारोबार र यहाँबाट अमेरिकातिर अवैध निर्यात गर्थे । उनीपछि सोही अभियोगमा जेल पनि परे भने नेपाल सरकारको अनुरोधमा हालसम्म इन्टरपोलमा सर्वाधिक खोजी गरिएका व्यक्तिका रुपमा सूचिकृत छन् । पुस्तकमा सन् १९७३ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले तत्कालीन राजा वीरेन्द्रलाई ५ करोड अमेरिकी डलर दिएका उल्लेख छ ।
अमेरिकाले एसियाली देशहरूमा ठूलो रकम दिएर गाँजा प्रयोग अवैध घोषणा गराइएको उल्लेख गर्दै पुस्तकमा अमेरिकाले नेपालमा रकम दिएको भोलिपल्ट नेपाली समाजमा आपराधिक क्रियाकलाप र कालो बजार पनि सिर्जना गरिएको’ भनिएको छ ।
अहिले नेपाल हेरोइनजस्ता अवैध कारोबारको एक प्रमुख ट्रान्जिट प्वाइन्ट बनेको पुस्तकमा उल्लेख छ । सन् ६० र ७० को दशकमा अमेरिकी र युरोपेली हिप्पी पर्यटकहरू आउने गरेको भन्दै उनीहरूले विकसित गरेको यात्रा मार्गलाई पियट्रीले ‘हिप्पी हसिस ट्रेल’को नामाकरण गरेका छन् ।
हिप्पीहरूको यात्रा बन्द हुनुमा अमेरिकी लगानीबाट गाँजालाई अवैध लागूऔषधको सूचीमा राखिनु नै मुख्य कारण भएको पियरीको पुस्तकमा उल्लेख छ । २०३४ सालमा गाँजालाई लागूऔषधको सूचीमा राखेर अवैध घोषणा गरिनुपूर्व नेपालमा गाँजा खेती सरकारद्वारा नियमन गरिन्थ्यो ।
गाँजा खेतीका लागि सरकारले अनुमतिपत्र (लाइसेन्स) दिन्थ्यो र सरकारलाई तोकिएको महसुल तिरेर गाँजा खेती हुन्थ्यो । पुस्तकमा निक्सन सरकारद्वारा लगानी गरेर प्रतिबन्ध लगाइनपूर्व नेपालमा गाँजाको व्यापार सरकारद्वारा नियन्त्रित गरिएको, त्यो स्थानीयहरूका लागि आय र पश्चिमीहरूका लागि एक रमाइलोको माध्यम भएको चर्चा गरिएको छ ।
पियरीको पुस्तकमा पञ्चायतकालमा नेपालबाट अमेरिकालाई उपहारमा कान्छा-कान्छी नामक गैंडा पठाउँदा कसरी गैंडा राख्न बनाइएको काठको खोरमा गाँजा हालेर पठाइयो भन्नेदेखि तत्कालीन राजदरबारका सदस्य संलग्नतामा हुने लागू औषधको कारोबारसमेतका धेरै अनुद्घाटित पक्षबारे विस्तृतमा लेखिएको छ ।