७ आश्विन २०८१, सोमबार

जसपाको आधिकारिकता यादव पक्षलाई दिने निर्णय विरुद्व ठाकुरको सर्वोच्चमा रिट

प्रकाशित मिति :  30 July, 2021 3:24 pm


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा ठाकुर केन्द्रीय कार्यकारिणी समितिको प्रथम वरीयताको अध्यक्ष थिए । तर बहुमत यादव पक्षले पुराएपछि आधिकारिकतापनि सोही समूहले पाएको छ । ठाकुरको तर्फबाट वारेस प्रदीपकुमार पाठकले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिनेसम्बन्धी निर्णय गरेको थियो । सोही निर्णय विरुद्ध ठाकुर पक्षले अदालत गुहारेको हो ।

निर्वाचन आयोगले आधिकारिकता फैसला गर्नुअघि सनाखत गर्न साउन ११ गते सनाखतका लागि कार्यकारिणी समिति सदस्यलाई बोलाएको थियो ।

ठाकुर पक्षले त्यसविरुद्ध पनि सर्वोच्चमा रिट दायर गरेको थियो । तर अदालतले अन्तरिम आदेश नदिएपछि आधिकारिकता विवादमा फैसला गर्न आयोगलाई बाटो खुलेको थियो ।

ठाकुरले निर्णय कार्यान्वयन गर्दा पार्टी नै विभाजित हुने तथा केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने भएकाले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगले साउन ११ गते गरेको निर्णय कार्यान्वयन नगर्नू, नगराउनू भन्ने आदेश माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !