९ माघ २०८१, बुधबार

भारतीय सीमा सुरक्षा बलको अमानवीय शैलीको चौतर्फी विरोध,बेपत्ता धामी अझै भेटिएनन्

प्रकाशित मिति :  31 July, 2021 12:06 pm


काठमाडौं । भारतीय सुरक्षाबलले तुइन काटिदिएपछि खोला तर्ने क्रममा दार्चुलाका जयसिंह धामी बेपत्ता भएपछि चौतर्फि विरोध सुरु भएको छ ।

दार्चुलाको व्याँस गाउँपालिका–२ मालघाटस्थित तुइन गर्नेक्रममा एसएसबीले काटिदिएपछि धमी बेपत्ता भएका छन् । उक्त ठाउँबाट स्थानीय बासिन्दा ओहोर–दोहोर गर्दै आएका थिए ।

हिजो बिहानै एसएसबीले तुइन काटिदिएपछि बेपत्ता भएका धामी अझै भेटिएका छैनन् ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले हिजै दार्चुलाको घटना गम्भीर भएको भन्दै सम्पूर्ण वास्तविकता बाहिर ल्याउन र आफ्नो नागरिकलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउंदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछु । ”

कांग्रेसले घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन÷दिलाउन सरकारलाई भनेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घटनाको विरोधमा आज कार्यक्रम गर्दैछ । नेकपाले काठमाडौंको शान्तिबाटिकामा विरोध सभा गर्न लागेको छ भने सदूरपश्चिमका जिल्लामा पनि विरोध कार्यक्रम गर्दैछ ।

देशभक्त जनगणतान्त्रिक मोर्चाले पनि घटनाको विरोध गरेको छ ।

मोर्चा अध्यक्ष सिपि गजुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ यही साउन १५ गते बिहान साढे ८ बजे दार्चुला जिल्लाको व्यास गाउँपालिका, वडा नं. २, मालघाटबाट सोही स्थान निवासी ३० वर्षीय जयसिंह धामी भारतको पिथौरागढस्थित पांगल जाने सिलसिलामा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतको सीमा सुरक्षा बलले तुइनको डोरी झिकिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएको भन्ने समाचार आइरहेका छन् । यो घटनाको अविलम्ब छानविन गरी अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न/गराउन हामी सरकारसँग जोडदार माग गर्दछौं ।”

तुइन काटेर नेपाली युवक धामीलाई महाकालीमा बेपत्ता बनाएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमावर्ती भारतीय प्रशासनसँग जानकारी माग गरेको छ ।

दार्चुलाकी निमित्त सिडियो ज्योत्सना भट्टले पिथौरागढको डिएम कार्यालय र एसडिएम कार्यालय धारचुलालाई सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीका लागि पत्राचार गरिएको बताएकी छन् ।

संघीय सरकारले पनि दार्चुला घटनाबारे छानबिन गर्न छानविन समिति गठन गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा छानबिन गर्न समिति गठन भएको हो ।

 



प्रतिक्रिया दिनुहोस !