अर्थसचिवको दौडमा तीन सचिव,कसले मार्ला बाजी ?
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै अर्थ मन्त्रालयको जिम्मेवारी नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।
माओवादी केन्द्रले अर्थमन्त्रीको जिम्मेवारी जनार्दन शर्मालाई दिएको छ । यसअघि ‘उज्यालो अभियान’मा सफल भएका शर्मालाई यसपटक अर्थ मन्त्रालयमा केही गरेर देखाउनुपर्ने चुनौती छ ।
ओली सरकारसँगको रस्साकस्सी र अदालतको आदेशबाट विस्थापित गरेर आएकाले पनि वर्तमान सरकारलाई केही गरेर देखाउने चुनौती छ । त्यसैले शर्माले आफ्नो सारथिका रुपमा अर्थ सचिवमा उपयुक्त पात्रको खोजीमा लागेका छन् । अर्थमन्त्री शर्माले आफ्ना भन्दा पनि दक्षताको हिसाबले अर्थ सचिव ल्याउन सल्लाह सुझाव मागिरहेका छन् ।
अर्थ मन्त्रालय स्रोतले भन्यो,“मन्त्रीज्यूले आफू अनुकूल र आफ्नोभन्दा पनि दक्ष र केही राम्रो गर्न सक्ने सचिवको खोजीमा हुनुहुन्छ । उहाँले विज्ञहरुको सरसल्लाह लिइरहनुभएको छ ।”
स्रोतका अनुसार अहिलेसम्म तीन सचिव अर्थसचिवको दौडमा अघि छन् ।
महालेखा नियन्त्रक मधु मरासिनी, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र प्रधानमन्त्री कार्यालयमा रहेका सचिव डा. बैकुण्ठ अर्याल यो दौडमा अगाडि छन् भने अन्य मन्त्रालयका केही सचिवले समेत अर्थ मन्त्रालयमा जाने चाहना राखेका छन् ।
स्रोत परिचालनका हिसाबले सबैभन्दा बलियो मन्त्रालय भएकाले पनि अर्थ मन्त्रालयमा जान निकै जोडबल हुन्छ । अर्थसचिवको दौडमा रहेका तीनै जना सचिवहरू ‘हुलाक सेवा’बाट आएका हुन् भने आर्थिक मामिलामा तीनै जना जानकार मानिन्छन् ।
प्रस्तावमा तीनवटा सचिवबारे मन्त्री शर्माले अध्ययन गरिरहेको स्रोत बताउँछ तर मन्त्रिपरिषद्ले पूर्णता पाएपछि मात्रै सचिवको हेरफेर गर्ने मनस्थितिमा मन्त्री शर्मा छन् । स्रोतका अनुसार सचिवद्वय मरासिनी र भण्डारी सम्भाव्य अर्थसचिवको दौडमा अगाडि छन् भने अर्याल पनि सँगसँगै सम्भाव्य सूचीमा परेका छन् ।
अर्थसचिवले नयाँ सरकारको आर्थिक नीतिदेखि सम्भावित पूरक बजेटको समेत तयारी गर्नुपर्ने भएकाले पनि अर्थमन्त्री शर्माले आर्थिक मामिलामा जानकार सचिवको खोजी गरेका हुन् ।