३ आश्विन २०८१, बिहिबार

कोरोना भाईरस : डब्लुएचोद्वारा बिश्व स्वास्थ्य आपतकाल घोषणा

प्रकाशित मिति :  31 January, 2020 9:07 am


काठमाडौं,१७ माघ ।कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओले विश्व स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको हो ।

चीनमा अहिलेसम्म २ सय १३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।
विश्व आपतकालीन अवस्था घोषणा गर्नुलाई चीनमा फैलिएको संक्रमणभन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताए ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ ।
वुहानमा पुष्टि भएका ४ हजार २ सय २५ जनामा गरिएको अध्ययनअनुसार सङ्क्रमण हुनेको औसत उमेर ५९ वर्ष रहेको छ भने ८९ प्रतिशत मानिस सङ्क्रमण भएको कम्तीमा पाँच दिनपछि मात्र अस्पताल गएका छन् । सङ्क्रमण हुनेमध्ये ५६ प्रतिशत पुरुष थिए ।

५५ प्रतिशत सङ्क्रमण समुद्री खानाबाट आएको थियो । डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । नयाँ पत्रिकाबाट



प्रतिक्रिया दिनुहोस !