४ आश्विन २०८१, शुक्रबार

कोभिड-१९ सँग सम्बन्धित कार्यक्रममा अढाइ अर्ब खर्च गर्न २७० एनजीओलाई स्वीकृति

प्रकाशित मिति :  1 August, 2021 2:16 pm


काठमाडौं । गत वैशाखमा कोभिड-१९ को दोस्रो लहर सुरू भइ देशव्यापी रुपमा निषेधाज्ञा घोषणा भएयता २७० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (एनजीओ/आईएनजीओ)हरू कोभिडसँग सम्बन्धित कार्यक्रममा २ अर्ब ६० करोड रुपैयाँ खर्च गर्ने स्वीकृति लिएका छन् ।

समाज कल्याण परिषद्‌का अनुसार आईएनजीओहरूले १ अर्ब ५४ करोड ६५ लाख र एनजीओहरूले १ अर्ब ५ करोड ८६ लाख रुपैयाँ खर्च गर्नेगरि स्वीकृति लिएका हुन् । यो साउन १५ गतेसम्मको विवरण हो ।

स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी १०२ वटा,  खाद्य सुरक्षामा ५७ वटा, जोखिम व्यवस्थापन र न्यूनीकरणमा ३४, आवास तथा सरसफाइमा २७ र शिक्षामा २३ वटा संस्थाले स्वीकृति लिएको परिषद्‌ले जानकारी दिएको छ ।

एनजीओहरूका अधिक कार्यक्रम बागमती प्रदेश केन्द्रित देखिएका छन् । बागमती प्रदेशमा ३८३, लुम्बिनीमा २६९, गण्डकीमा २२७, सुदूरपश्चिमा २१४, प्रदेश नं १ मा १८५, प्रदेश नं २ मा १६६ र कर्णालीमा १६२ वटा कार्यक्रम सञ्चालनका लागि स्वीकृति लिइएको परिषद्‌ले बताएको छ ।

६० लाख व्यक्ति लाभान्वित !

एनजीओ/आईएनजीओहरूमार्फत विगत तीन महिनायता सञ्चालित मानवीय सहायताका कार्यक्रमबाट ५९ ल‌ाख ८० हजार नेपाली लाभान्वित भइसकेको दाबी गरिएको छ ।

यी ‘मानवीय सहायता संस्थाहरू’ले परिषद्‌मा पेश गरेको तथ्यांकअनुसार वैशाख २८ देखि साउन १५ गतेसम्म देशभरि १ लाख ५३ हजार ७७६ थान पीपीई, ८२ हजार ४५० थान आईसो‌लेसन किट, ८ वटा अक्सिजन प्लान्ट, ८१३ अक्सिजन कन्सन्ट‍्रेटर, एन्टिजेन टेस्ट किट, आरटी-पीसीआर किट लगायतका स्वास्थ्य सामग्री बाँडिएको उल्लेख छ ।

यी संस्थाहरूमार्फत् ६४ हजार २२६ वटा खाद्यान्न प्याकेज पनि बाँडिएको परिषद्‌को विवरणमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !