१० मंसिर २०८१, सोमबार

जलवायु अनुकुलित खेतीमा उपाय खोज्दै रोल्पाका किसान

प्रकाशित मिति :  2 August, 2021 8:48 am


उमा केसी 

रोल्पा । जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा समेत देखिन थालेपछि भन्दै रोल्पाका कृषकहरु अनुकुलन उपाय खोजी गर्न थालेका छन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नंं ६ गजुलका ३० घरधुरी कृषकहरूले अनुकुलनका विभिन्न उपाय अवलम्वन गर्दै खेती सुरु गरेका हुन् ।
“कृषिमा अत्यधिक मात्रामा प्रयोग गरिने रासायनिक मल तथा किटनासक औषधीले मानव स्वास्थ्य र वातावरणमा समेत असर गरिरहेको हुँदा जलवायु मैत्री खेतीको सुरुवात गरेका छौं,” सुनिलस्मृती गाउँपालिका–६ गजुलका अगुवा कृषक ईन्द्रवहादुर थापाले भने ।

जलवायु परिवर्तनका कारण खेतवारीमा देखिएको मिचाहा प्रजातीले कृषकहरुलाई हैरान वनाएको थियो । त्यही मिचाहा प्रजातीलाई मलमा उपयोग गर्न सकिने सिप सिकेपछि अचेल उनीहरुलाईे हैरानी सहनु परेको छैन ।

“मिचाहा प्रजातीलाई वायो चार्टको रुपमा मल वनाएर खेतवारीमा प्रयोग गर्छौ,” थापाले भने । मिचाहा प्रजातीलाई काटेर खाल्डोमा जम्मा गरि खरानी नपर्ने गरि जलाएपछि आएको अंगार खेतवारीमा मलको रुपमा प्रयोग गरेको उनको भनाई छ ।

त्यसरी वनेको अंगारमा शुक्ष्म जिवाणूहरु वस्न सक्ने ठाउँ रहने भएकाले वोटविरुवालाई फाईदा हुने गरेको कृषकहरुको भनाई छ । अंगारले पानी पनि सोस्ने भएकाले माटोमा आद्रता पनि रहिरहन्छ ।

गाईको मल मूत्र,भेली र वेसनको पिठो मिसाएर झोल मल समेत प्रयोग हुदै आएको छ । त्यस्तो मल किसानहरुले ७ दिनमा तयार गर्छन। त्यसरी वनेको मल हरेक विरुवामा सिंचन गर्छन् ।

उनीहरूले किटनासक औषधीको सट्टा आफैले तयार गरेको औषधी प्रयोग गर्छन् । तरकारी खेतीमा लाग्ने मित्र जीवलाई वचाएर सत्रू किरा मार्न पानी पासो,वत्ती पासो लगायत विभिन्न पासो प्रयोग गर्ने गर्दछन् ।

यस्तो प्रविधि प्रयोग गरेर आफुले उत्पादन गरेको अर्गानिक तरकारी अन्य तरकारी भन्दा महंगो हुने हुँदा वजारमा केही समस्या हुने गरेको थापाको भनाई छ ।

अर्गानिक तरकारीको रुपमा प्रमाणिकरण सहित स्टीकर टाँसेर काठमाण्डौ सप्लाई गर्ने उनीहरुको धोको छ । स्थानीय सरकारले सहयोग गरे अर्गानिक उत्पादनको प्रमाणिकरण गर्न सकिने थापाको भनाई छ ।

जलवायु परिवर्तन मैत्री खेतीमा लागेका किसानहरूलाई पहाडी साना किसानका लागि अनुकुलन कार्यक्रमले सामान्य आर्थिक सहयोग र प्राविधिक सहयोग गरेको आयोजनाका जलवायु परिवर्तन विज्ञ उमाकान्त गुरागाईले जानकारी दिए ।

“मानव स्वास्थ्य र वातावरण नविग्रने गरि उहाँहरुले गर्दै आउनु भएको खेती प्रणाली जलवायु अनुकुलनका लागी महत्वपूर्ण सिकाई रहेको छ,” गुरागाईले भने ।

सो गाउँले अभ्यास गर्दै गरेको जलवायुमैत्री खेती तथा अनुकुलनका उपायहरु वडाका अन्य वस्तीहरुमा पनि विस्तार गर्न आवश्यक रहेको सुनिलस्मृती गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष अर्जुन सुवेदीको भनाई छ ।

“उहाँहरू वडाका अन्य कृषकका पनि प्रेरणाका श्रोत वन्नुभएको छ,” सुवेदीले भने,“ उहाँहरुको प्रविधि र सिप विस्तार गरेर वडालाई नै जलवायु मैत्री ग्राम वनाउने सोचमा छौं ।”

यस्तो प्रविधि अपनाएर खेती गर्ने कृषहरुले समूह वनाएर अनुभव आदान प्रदान गर्दै आएका छन् । ३० जना कृषक संलग्न रहेको सो समूहले हरेक १५ दिनमा वैठक वसेर अनुभव आदान प्रदान गर्नुका साथैे आफुले जानेको प्रविधि तथा सीप पनि हस्तान्तरण गर्ने गर्छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !