७ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनद्वारा प्रदेश प्रमुखलाई निवेदन,सरकार गठनका लागि आह्वानको माग 

प्रकाशित मिति :  2 August, 2021 12:45 pm


रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गर्दैै प्रमदेश प्रमुखलाई निवेदन दिएको छ ।

विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुख अमिक शेरचनलाई आज निवेदन दिएका हुन् ।

निवेदनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभासंसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा नेपालका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाबाट तारा जिसीले हस्ताक्षर गरेका छन् ।

निवेदनमा भनिएको छ, ‘प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा सो अनुसार नगरी प्रदेशसभामा तत्कालीन समयमा जम्मा ३८ जना सदस्य रहेको नेकपा एमाले दलका नेता मा.शंकर पोखरेललाई धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख मा. धर्मनाथ यादव ज्यूबाट संविधान विपरित हुने गरी नेपालको संविधान, संसदीय शासन प्रणालीका आधारभुत मूल्य, मान्यता, मर्म, भावना र संवैधानिक परम्परा विपरित संविधानको जालसाजी प्रयोग गरी नियुक्ति र सपथ गराईयो ।’

गत वैशाख १९ गते संविधानको जालसाजीपूर्ण प्रयोग गरी संविधानको धारा १६८ को १ बमोजिम मुख्यमन्त्रीमा पोखरेल नियुक्त हुँदा नेकपा एमाले संसदको बहुमत प्राप्त संसदीय दल नरहेको बिपक्षी गठबन्धनको दाबी छ । विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशसभामा आजका मितिसम्म तत्काल कायम रहेका ८० जना प्रदेशसभा सदस्यमध्ये ३८ जनामात्र एमाले सांसद रहेको उल्लेख गरेको छ ।

मुख्यमन्त्री पोखरेलले गत वैशाख १९ देखि हालसम्म अवैधानिक र अनैतिक ढंगले सरकार चलाईरहेको विपक्षी गठबन्धनको आरोप छ ।

निवेदनमा भनिएको छ, ‘लुम्बिनी प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थाको विद्यमानता भएकोले संविधानको धारा १६८ को १ बमोजिम नियुक्त मा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार नियुुक्तिको धारा अनुसारको संवैधानिक हैसियतमा नरहेको अवस्थाको विद्यमानतामा नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकार गठनको लागि आह्वान गरी पाउन माननीय प्रदेश प्रमुखज्यु समक्ष सादर निवेदन गर्दछौं ।’

प्रदेश प्रमुख फेरिए लगत्तै लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि दबाव बढाउँदै लगेको छ ।



प्रतिक्रिया दिनुहोस !