४ आश्विन २०८१, शुक्रबार

कञ्चनपुरका पशुमा पहिलोपटक भेटियो लम्पी स्किन, दुई दर्जनबढी पशु संक्रमित

प्रकाशित मिति :  3 August, 2021 1:41 pm


सांकेतिक तस्बिर

कञ्चनपुर । कञ्चनपुरमा पशुमा देखिने ‘लम्पी स्किन; रोग पहिलोपटक देखा परेको छ ।

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो । पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताए ।

“यस्तोे सङ्क्रमण अन्य पशुमा फैलिन नदिनका लागि सावधानी अपनाउन किसानलाई सचेत गराएका छौँ । रोग देखापरेका गाई र गोरुलाई अलग्गै राखी सरसफाइ गर्न र आवश्यक औषधि प्रयोग गर्न भनेका छौँ,” उनले भने।

छ जना किसानका दुई दर्जन भन्दाबढी पशु एक साता अघिदेखि सो रोगबाट ग्रसित भएकोमा हाल बाच्छाबाच्छीमा समेत सङ्क्रमण देखापरेको छ । स्थानीय किसानका अनुसार सङ्क्रमित गाई र गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने र नाकबाट सिगान बग्नेलगायतका लक्षण देखिएका छन् । रोग लागेका दुधालु गाईले ह्वात्तै दूध घटाएका छ ।

भारतीय व्यापारीले गाई र गोरु खरिद गरी भारततर्फ लैजाने र त्यहाँबाट यहाँ ल्याउने गरेकाले भारतबाटै रोग फैलिएको हुनसक्ने अनुमान गरिएको स्थानीय किसान वीरसिंह महराले बताए ।

“रोग निराकरणका लागि गाई–गोरुको ओसारपसार र बेचबिखन रोक्नु जरुरी छ”, पशु शाखा अधिकृत भट्टले भने, “सङ्क्रमित गाई र गोरुलाई चराउन लैजाने कार्य बन्द नहुँदासम्म सङ्क्रमण रोक्न कठिन भएकाले त्यस्ता पशुलाई घरमै बाँध्न आग्रह गरेका छौँ ।”

रोगलाई महामारीका रूपमा फैलिन नदिन किसानलाई सतर्क गराइएको उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस !