कुलमान नियुक्त गर्न सरकारको सबै तयारी, राजीनामा दिए ‘उपयुक्त ठाउँ दिने’ शाक्यलाई प्रस्ताव
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणबाट राजीनामा दिए कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उपयुक्त ठाउँमा नियुक्त गर्ने प्रस्ताव गरेको छ ।
पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्त गर्न वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा माग्दै ‘उपयुक्त ठाउँमा सेटल गर्ने’ प्रस्ताव गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि ऊर्जा मन्त्री पम्फा भुसालले शाक्यलाई हिजो राजीनामा दिन आग्रह गरेकी थिइन् । शाक्यले भने लुम्बिनी सञ्चारसँग भने,“मलाई कुनै जिम्मेवारी दिने भनिएको छ,जिम्मेवारी दिने नदिने कुरा सरकारले निर्णय गर्नुपर्छ, क्षमता अनुसार जिम्मेवारी दिन्छु भन्नुभएको छ, सरकारले दिए हुन्छ यस प्रकारले पठाए भयो ।”
शाक्यले बाध्यात्मक शैलीमा भने नबाहिरिने प्रष्ट पारेका छन् । शाक्यले लुम्बिनी सञ्चारसँग कुरा गर्दै भने,“सरकारले अदालत जान बाध्य पारे जानुपर्ला ।”
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर सरकार फेरिएसँगै घिसिङलाई फेरि प्राधिकरणमा ल्याउन खोजिएको छ ।
घिसिङलाई प्राधिकरणमा ल्याए शाक्यलाई उपयुक्त ठाउँमा पठाउने भनिएको छ । शाक्यले पनि आफू निकटसँग सम्मानजनक ढंगले ठाउँ दिए विदा हुने बताएका छन् । तर सम्मानजनक ठाउँबारे भने अझै प्रष्ट भएको छैन ।
घिसिङ तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पालामा कार्यकारी निर्देशक भएका थिए । उनकै पालामा लोड्सेडिङ हटेपछि प्रशंसा भएको थियो । अहिले ऊर्जा मन्त्री फेरि माओवादी केन्द्रकै भागमा परेको छ र शाक्यलाई हटाएर घिसिङलाई ल्याउने प्रयास सुरु भएको छ ।