१० माघ २०८१, बिहिबार

अर्घाखाँचीमा हरेक वर्ष आत्महत्या बढ्दो,पुरुषको संख्या धेरै

प्रकाशित मिति :  4 August, 2021 1:15 pm


अनिल नेपाली

अर्घाखाँची । अर्घाखाँचीमा हरेक वर्ष आत्महत्याका घाटना बढ्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷७८ मा मात्रै अर्घाखाँचीमा ८० जनाले आत्म हत्या गरेका छन् ।

झुन्डिएर ७३ जना, विष सेवन गरेर ५ जना, हाम फालेर १ जना र औजार प्रयोग गरेर १ जना गरी ३३ महिला र ४७ पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/७७ मा ४८ जनाले आत्म हत्या गरेकोमा एक आर्थिक वर्षमै ६६ प्रतिशतले आत्महत्या बढेको छ । पछिल्लो ५ वर्षमा मात्रै २ सय ७५ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७३/७४ मा ५० जना, २०७४/७५ मा ५४ जनाले २०७५/७६ ले ४३,२०७६/७७ मा ४८ जनाले र २०७७/७८ मा ८० जनाले आत्महत्या गरेका छन् ।

अर्घाखाँची प्रमुख थापाले भने,“आत्महत्या प्राय अशिक्षा, गरिबी, घरेलु हिंसा, मानसिक रोग, प्रेममा असफलता, दीर्घ तथा उच्च रोगका कारण मानिसहरूले बढी आत्म हत्या गरेको देखिएको छ ।”

तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा अशिक्षाका कारण ५,गरिबीका कारण १२, घरेलु हिंसाले १, मानसिक रोगका कारण ९, प्रेममा असफलताका कारण ९, दीर्घ रोगका कारण ६, उच्च रोगका कारण १८ र अन्य कारणले २० जनाले आत्महत्या गरेका छन् ।

अविवाहितको तुलनामा विवाहितले बढी आत्महत्या गरेका छन् । विवाहित ५८ जना र अविवाहित २२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा गत आर्थिक वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी जेठ महिनामा १४ जनाले आत्महत्या गरेका छन् । तर बैशाख महिनामा आत्म हत्याको संख्या शून्य रहेको छ ।

बारको आधारमा विश्लेषण गर्दा आइतबार १६ जना र शुक्रबार ६ जनाले मात्र आत्म हत्या गरेको देखिएको प्रहरी नायव उपरीक्षक थापाको भनाई छ ।

शैक्षिक योग्यताका आधारमा हेर्दा पढे लेखेका भन्दा नपढेका मानिसले बढी आत्महत्या गरेका छन् ।

एक वर्षको तथ्यांक हेर्दा अनपढ २३ जना, सामान्य लेखपढ गर्ने ३१ जना, माध्यामिक तह पास गरेका २२ जना र आइए वा सो सरहका ४ जनाले आत्महत्या गरेका छन् । बिए वा सो भन्दामाथि पढेलेखेका व्यक्तिहरूले कसैले पनि आत्म हत्या गरेको नदेखिएको जिल्ला प्रहरी कार्यालयका तथ्याङ्कमा उल्लेख छ ।

बिहानको समयमा सबैभन्दा बढीले आत्महत्या गरेका छन् । बिहान ६ देखि १२ बजेको समयमा १६ जना महिला र २० पुरुष गरी ३६ जनाले आत्म हत्या गरेका छन् ।

तर बेलुका ६ बजेदखि राति १२ बजे सम्मको समयमा सबभन्दा थोरै ३ महिला र ६ पुरुषले ज्यान फालेका छन् । गत साल डिर्भनाका एक युवाले प्रेम विवाह घरपरिवारले अस्वीकार गरेपछि फेसबुकमा स्टाटस लेखेको २० मिनेटपछि आत्महत्या गरेका थिए ।

आत्महत्या गर्नेमा सबैभन्दा दलित समुदायका व्यक्ति बढी छन् ।

दलित समुदायका मानिसमा चेतनाको कमी , पारिवारिक द्वन्द्व आर्थिक कारण बैदेशिक रोजगारी जातीय विभेदका कारणले गर्दा दलित समुदायका मानिसले आत्महत्या गरेको दलित अधिकारकर्मीका जिल्ला सयोजक विष्णु परियारले बताए ।

परियारले सरोकारबाला निकाय सबै मिलेर जनचेतना जगाउन सकेमा आत्महत्या नियन्त्रण गर्न सकिने उनी बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !