७ आश्विन २०८१, सोमबार

प्रदेश-२ का भौतिक पूर्वाधार मन्त्रीले विवादित व्यक्तिलाई सल्लाहकार बनाएपछि जनकपुर तरङ्गित

प्रकाशित मिति :  4 August, 2021 7:39 pm


काठमाडौ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गर्दाको व्यापक आलोचनाको तरङ्ग ओरालो लाग्न बाँकी छ ।

तर, काठमाडौंको तरंग कम नहुँदै  उपसभापति विमलेन्द्र निधि निकट मानिएका प्रदेश नम्बर-२ को नेपाली कांग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा कैद जरिवाना भएका व्यक्तिलाई आफ्नो सल्लाहकार नियुक्त गरेपछि जनकपुर क्षेत्र तरङ्गित हुन पुगेको छ ।

जनकपुर बस्ने कांग्रेस निकट एक नेताले लुम्बिनीसञ्चारसँग कुराकानी गदै भने “जीवनाथ चौधरीलाई सल्लाहकार बनाउँदा मन्त्री यादवले सभापति देउवाको बुझाइलाई मनन गरेको भए राम्रो हुने थियो । एकछिनलाई मानियो जीवनाथ निर्दोष छन् अरे । तर सर्वोच्चबाट फैसला आउन बाँकी छ । विशेष अदालतबाट दाषी ठहर भइसकेको छ । जीवनाथ विवादित भए । उनको ठाउँमा अरुलाई सल्लाहकार राखे हुने पनि हुन्थ्यो । कि धनुषा कांग्रेसमा दागरहित मान्छै नै छैन ?”

चौधरीको नियुक्तिप्रति मैथिली भाषाको सीमाञ्चल पत्रिकाको अनलाइन संस्करणले “भ्रष्टाचारीलाई सल्लाहकार नियुक्ति गरिएपछि प्रदेश सरकार घेरामा” अर्थलाग्ने शीर्षकमा मन्त्री यादवले चौधरीलाई गरेको नियुक्तिबाट जनकपुर क्षेत्र तरङ्गित भएको समाचार बनाएको छ ।

तत्कालीन जिल्ला विकास समितिका सहलेखापाल पदमा रहेका बेला अकुत सम्पत्ति कमाएको मुद्दामा चौधरीलाई विशेष अदालतले ४ महिना जेल सजाय तथा ६ लाख ७५ हजार जरिवाना तिर्नुपर्ने फैसला गरेको सीमाचलले जनाएको छ ।

चौधरी विरुद्वको मुद्दा अहिले सर्वोच्चमा विचाराधिन छ ।

सीमाञ्चलले सार्वजनिक गरेको भएपनि चौधरीले नियुक्ति प्रति बधाई तथा शुभकामना प्राप्त गरिरहेका छन् । समाचारप्रति  कांग्रेसका उपसभापति निधि पक्षीय नेताहरूले अन्तिम फैसला नभएकाले मन्त्री यादवले चौधरीको नियुक्ति गर्दा ठूलो कुरो नभएको बताउँछन् ।

 

 



प्रतिक्रिया दिनुहोस !