७ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेश सभा सदस्य वलीले भनिन्,‘मलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाइयो’

प्रकाशित मिति :  5 August, 2021 2:09 pm


काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको दाबी गरेकी छन् ।

केही समयदेखि सत्तापक्ष र विपक्षी गठबन्धनको तानातानमा परेकी वलीले आफू उपचारका लािग नेपालगञ्ज जान लागेका बेला साउन १५ गते घरमै आएर एमाले नेताले जर्बजस्ती लगेर मुख्यमन्त्रीको निवास बुटवलमा बन्धक बनाइएको दाबी गरेकी हुन् ।

आज पत्रकार सम्मेलन गर्दै वलीले उपचारका लागि नेपालगञ्ज जान लागेका बेला नेकपा एमाले लुम्बिनी प्रदेश सांसद भूमिश्वर ढकालले जर्वजस्ती नेपालगञ्ज छोड्दिने भनेर बुटवल पुराएर बन्धक बनाएको आरोप लगाएकी छन् ।

वलीले भनिन्,“ उपचारको लागि नेपालगन्ज जादैछु जानदिनुस् भन्दा प्रमुख सचेतक भुमेश्वर ढकालले हामी पनि नेपालगन्ज जाने हो, संगै जाऔँ हामी नै पुराई दिन्छौं भन्नु भयो उहाँ जस्तो जिम्मेवार नेताले भनेपछि मैले विश्वास गरी गाडीमा बसे, गाडी तुल्सीपुरबाट अमिलिया आएर उहाँहरु खाना खानु भयो ।”

उनले थप भनिन्,“ गाडिमा बसियो तर गाडी नेपालगन्ज तिर जानु पर्नेमा एक्कासी बुटवलतिर मोडियो तत्कालै मैले प्रतिवाद गर्दै भनें यता कहाँ जाने हो ? गाडी बुटवलतिर हुँइकिरहयो, मैले यसो किन गर्नु भयो भनेर लगातार प्रतिवाद गरिहँदा उहाँहरुले भन्नु भयो एक पटक मुख्यमन्त्री ज्युलाई भेट्नु पन्यो भनेर गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पुर्‍याइयो ।”

बुटवल पुराएपछि मुख्मन्त्री शंकर पोखरेलसंग भेट भई छलफल शुरु भएको र नेकपा ( एमाले) मा आउन भनेर दबाव दिएको उनको भनाई छ ।

वलीले आफ्नो विज्ञप्तिमा भनेकी छन्,“ पहिले हाम्रो गल्ती भयो, अब त्यस्तो हुँदैन, पार्टीमा आउनुस् मन्त्री बन्नुस् ! भनेर विभिन्न प्रलोभन देखाइयो । मैले निरन्तर ईन्कार गरिरहें साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाव दिइरहियो, मैले इन्कारी जारी राखिरहें साउन १८ गते विज्ञप्ती लेखेर मलाई पढनै नदिई जबरजस्ती हस्ताक्षर गराइयो ।”

वलीले आफूलाई मुख्यमन्त्री निवासभित्रै विज्ञप्तिमा मात्रै नभई दुइ तीनवटा माइन्युट जस्ता रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइएको बताएकी छन् ।

उनले भनेकी छन्, “यो यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छु भनेर सोचेको थिए, तर अझ कडाइका साथ साउन १९ गते देखि मुख्यमन्त्री निवास भित्रै राखियो ।”

२० गते बिहान आफूलाई असहय मानसिक पीडा भएको र जसरी पनि निस्कनु पर्छ भनेर तयारी गरको वोलीको भनाई छ ।

बाहिर निस्कदाको विवरण सुनाउँदै वलीले भनेकी छन्,“दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगे, जहाँ मेरो आफनै बुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरे ।”
त्यसबेला आफू मानसिक रुपमा निकै थकित भएकोले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन नसकेको र आज सार्वजनिक भएको वेलीले जानकारी दिईन् ।

यस्तो घटना मैले पहिलो पटक बेहोर्न पर्‍यो

राजनीति र सरकारको खेलमा यस्तो घटना आफूले पहिलो पटक वेहोरेको अनुभव वलीले सुनाईन् ।

उनले भनिन्,“नेकपा (एमाले)ले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिएन मेरो विचार राजनीति उहाँहरुको भन्दा फरक भए पनि मैले उहाँहरुलाई अविभावककै रुपमा मान्ने र बुझ्ने गर्दथे । तर त्यस्तो व्यवहार पाइएन ।”

यस घटनाबाट आफूलाई गम्भीर शिक्षा प्राप्त भएको र यस घटनाले अझै परिपक्व बनाएको वलीको भनाई छ ।

आफू नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) प्रति पूर्णप्रतिबद्ध रहेको स्पटिकरण दिईन् । उनले जारी विज्ञप्तिमा भनेकी छन्,“ मेरो नामबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश दलले फैलाएको भ्रमहरू र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुठो हुन भनेर जानकारी गराउँदछु ।”

को हुन बिमला ?

बिमला २०७६ मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार भएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

गत प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका पति उत्तमकुमार वलीको दुर्घटनामा निधन भएपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बिमला निर्वाचित भएकी थिइन् ।

२०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भयो भने नेकपा ( माओवादी केन्द्र) र नेकपा (एमाले) पहिलेकै अवस्थामा फर्किए । बिमला स्वतन्त्र हैसियतमा पुगिन्। उनले वैशाख १९ गते पत्रकार सम्मेलन गरेर नेकपा माओवादी केन्द्र छनौट गरेको जानकारी गराईन् ।

तर केही दिन अघि मात्रै पुनः एमालेमा नै रहेको विज्ञप्ति आयो ।

वलीले फेरि आज पत्रकार सम्मेलन गरेर आफूलाई बन्धक बनाएर विज्ञप्ति जारी गर्न लगाइएको र त्यो कुनै सत्य नभएको बताएकी छन् । सत्तापरिवर्तनमा वली निर्णायक अवस्थामा भएपछि तनातानमा परेकी हुन् ।

 



प्रतिक्रिया दिनुहोस !