७ आश्विन २०८१, सोमबार

‘चैत मसान्तसम्म सबैलाई खोप,स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितता गर्नेलाई कारबाही’

प्रकाशित मिति :  6 August, 2021 12:02 pm


काठमाडौं ।  विपक्षी गठबन्धनले आगामी असोजसम्ममा एक तिहाई नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निशूल्क खोपको व्यवस्था गर्ने गरि न्यूनतम साझा कार्यक्रम तय गरेको छ ।

कार्यदलले शिर्ष नेतालाई बुझाएको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा कोरोनाबाट उत्पन्न महाविपत्तिबाट मुक्तिका लागि चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निशुल्क खोपको व्यवस्था गर्ने उल्लेख छ ।

न्यूनतम साझा नीति तथा कार्यक्रममा‘स्वास्थ्यकर्मीहरूका लागि व्यक्तिगत सुरक्षा साधन (पिपिइ),उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू, अस्पतालका कर्मचारी, एम्बुलेन्स चालक, सफाई मजदुर तथा सुरक्षाकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने’ भनिएको छ ।

कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने र खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने कार्यक्रममा समावेश छ ।

कोभिड–१९ को सम्भावित तेस्रो लहरको विरुद्ध स्वास्थ्य सचेतना, आवश्यक जनशक्ति र गुणस्तरीय स्वास्थ्यसामाग्रीको व्यवस्थापन र अस्पतालहरूको स्तरोन्नती गर्ने तथा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानबीन गर्ने र दोषीउपर कानुनी कारबाही गर्ने न्युनतम साझा कार्यक्रममा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !