एक हप्ताभित्रै संसदमा श्वेतपत्र पेश गरिने,श्वेतपत्रलगत्तै मौद्रिक नीति
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एक हप्ताभित्रै श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । सरकार गठन भएपछि नै आर्थिक पत्रकारहरूमाझ अर्थमन्त्री शर्माले श्वेत पत्र जारी गर्ने घोषण गरेका थिए ।
अर्थमन्त्रीका रुपमा बहाल भएदेखि नै तयारी गरिरहेका शर्माले संसदमा श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् । अर्थमन्त्रालय स्रोतका अनुसार आगामी साताभित्रै श्वेतपत्र सार्वजनिक हुनेछ ।
यसबारेमा अर्थमन्त्री शर्माले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरिसकेका छन् ।
स्रोतका अनुसार सरकारले संसदमै श्वेत पत्र सार्वजनिक गर्न उपयुक्त हुने पूर्वअर्थमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र अर्थविज्ञहरूले सुझाव दिएका थिए ।
‘संसदमै श्वेत पत्र सार्वजनिक गर्दा त्यसको गरिमा पनि बढ्छ, बाहिर पत्रकार सम्मेलन गरेर भन्दा संसदमै सार्वजनिक गर्नुस्’ भन्ने सभामुखसमेतको रायका आधारमा संसदमा श्वेतपत्र पेश गर्न लागिएको हो ।
श्वेतपत्रलगत्तै मौद्रिक नीति
अर्थमन्त्री शर्माले श्वेतपत्र सार्वजनिक गरेलगत्तै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ आर्थिक वर्षको मौद्रिक नीति जारी गर्न राष्ट्र बैंकले ढिलाइ गरिरहँदा आलोचना भइरहेको छ ।
“सरकारले श्वेतपत्रमार्फत् ल्याउने आर्थिक दृष्टिकोणमा आधारित रहेर मौद्रिक नीति सार्वजनिक गरिनेछ,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।
यद्यपि राष्ट्र बैंकले भने श्वेतपत्र सार्वजनिक भएको १–२ दिनमै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकको उच्च स्रोतले भन्यो, ‘२६–२७ गतेसम्म श्वेत पत्र आउछ होला त्यसको १–२ दिनमै हामी मौद्रिक नीति सार्वजनिक गर्छौं ।’