राज्यमन्त्री श्रेष्ठको राजीनामासमेत माग राखी डा. केसीले गरे सत्याग्रहको घोषणा
काठमाडौ । पटक पटक माग राखी आमरण अनसनसम्मको सत्याग्रह गर्दै आएका वरिष्ठ चिकित्सक गोविन्द केसीले फेरि सत्याग्रहको घोषणा गरेका छन् ।
डा. केसीले भदौ ३ गतेदेखि सत्याग्रह थाल्ने घोषणा एक विज्ञप्ति सार्वजनिक गरी गरेका हुन् । विभिन्न पाँच बुँदे माग मध्ये पहिलो माग डा. केसीले राज्यमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चार शीर्ष पदाधिकारीलाई पदमुक्त गर्न , बीपीलगायत कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा मापदण्डका आधारमा सिफारिस गर्न र त्यसका लागि तत्काल कानुनी व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग समेत राखेका छन् ।
यसैगरी चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग पनि उनले गरेका छन्।
सम्झौता भए बमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्ने कामलाई अघि बढाउनुपर्ने छ ।
यसअघि भएका सबै सम्झौताहरु कार्यान्वयन गर्न समेत माग गर्दै उनले तीमध्ये चिकित्सा शिक्षा ऐनको संशोधन गर्दा अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गर्न समेत उनले माग गरेका छन् ।