७ आश्विन २०८१, सोमबार

आधिकारिकता नपाएपछि ठाकुर पक्ष अगुवा कार्यकर्ताको समर्थन लिन जिल्ला दौडाहामा

प्रकाशित मिति :  6 August, 2021 6:27 pm


काठमाडौ । निर्वाचन आयोगबाट आधिकारिकता  पाउन नसकेपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरूले अगुवा कार्यकर्ताको समर्थन खोज्न जिल्ला दौडाहा सुरु गरेका छन् ।

निर्वाचन आयोगले अर्का अध्यक्ष उपेन्द्र यादवलाई आधिकारिकता  दिन केन्द्रीय कार्यकारिणी सदस्यलाई प्रत्यक्ष बोलाइ थालेको प्रक्रिया उपर दायर रिटमा  अपेक्षित परमादेश नपाएपछि अगुवा कार्यकर्ताहरूको समर्थन जुटाउन उनीहरू जिल्ला दौडाहामा गएका हुन् ।

शुक्रबार सप्तरीमा आयोजित कार्यकर्ता भेलाको ब्यानरमा जनता समाजवादी पार्टी, अध्यक्ष महन्थ ठाकुर , जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला उल्लेख गरिएको छ ।

सप्तरीमा राजेन्द्र महतो लगायतका नेताहरूले अगुवा कार्यकर्ताहरूसँग छलफल गरेको सो पार्टीका नेताहरूले जनाएका छन् ।

पार्टीका नेताहरूले अगुवा कार्यकर्ता भेलाको योजना बनाएर ठाकुर पक्ष जिल्ला दौडाहामा जान लागेकै दिन अर्का अध्यक्ष उपेन्द्र यादवले ठाकुर पक्षलाई बिना हिचकिचाहट पार्टीमा आउन अपिल गरेका थिए ।

ठाकुर पक्षले निर्वाचन आयोगले दिएको आधिकारिकताको विरूद्धमा दुईटा मुद्दा दायर गरेका छन् भने एउटा मुद्दा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी बिचको एकीकरणलाई टुक्र्याउने माग दाबी सहित तत्कालीन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाको तर्फबाट रिट दायर गरिएको छ ।

थापाको रिटमा निर्वाचन आयोग र जसपा पार्टी समेतलाई  परमादेश किन हुन नपर्ने हो त्यसबारे छलफलका लाागि अदालतले साउन २५ गते बोलाएको हो ।

 



प्रतिक्रिया दिनुहोस !