७ मंसिर २०८१, शुक्रबार

रोल्पा पहिलो किताब छाप्दाको संस्मरण : अनि वाराणसीमा ‘चेतन लहरी’ छापियो [भाग २]

प्रकाशित मिति :  7 August, 2021 2:31 pm


बिक्रम सम्बत् २०२३ साउनबाट अहिले २०७८ सालको साउनसम्म औँला भाँच्दै गनेर ल्याउँदा पनि ५५ वर्ष त बिति सकेछ – अब ५ वर्षपछि त तीन बीस पुग्दो रहेछ । पछिल्लो इन्टरनेट पुस्तालाई त दन्त्य कथा जस्तो लाग्ला । समयका वर्तमान खण्डहरूले पुरानो समयका खण्डहरू कति कठिन थिए होलान् जाने बुझे राम्रै होला नि !  सबैका आ-आफ्नै कथा छन् । यो कथा भने “रोल्पा” नामको नयाँ जिल्लाकै पहिलो किताब छाप्दाको कथा हो । पढ्ने रुचि भाकाहरूले यो वर्णनको आँखीझ्यालबाट दिवङ्गत सर्जकको व्यक्तित्व, त्यस बखतको छापाखानाको कथा, यात्राका कठिनाइ, आर्थिक र सामाजिक जीवनका पाटा र प्रकाशनको इतिहासको एकमुस्ट झलक पाउन सक्लान् कि भन्ने ठानेर पनि लेख्दै छु । “बुझ्नेलाई श्री खण्ड, नबुझ्नेलाई खुर्पाको बिँड” पनि हुन सक्ला । तै पनि “बुढा मरै ,भाषा सरै” भन्छन् – भनेर पनि लेखि राखिएको हो । – लेखक ।


५५ वर्षअघि रोल्पा जिल्लाकै पहिलो किताब ‘चेतन लहरी’ छापिँदाको संस्मरण [भाग १]


भाग- २

म विद्यालयमा पढाउने साथै घरको खेतीपातीको काममा पनि व्यस्त नै हुन्थें । असार-साउनमा विद्यालयमा पनि बर्खे विदा हुन्छ र खेतीपातीको काम पनि सकिने हुनाले त्यो समय फुर्सद हुन्छ भन्ने सोचेर त्यो समयमा ‘चेतन लहरी’ छपाइको लागि जाने मैले विचार गरें ।

“२-४ महिना ढिला हुने भयो, साउन महिनातिर स्कूल बन्द हुदाँ जानुपर्ला, सबै कुरा तयार गर्नुहोला,” मैले भोलिपल्ट बिहान उहाँलाई अनुरोध गरेँ ।

रोल्पा सदरमुकाम लिवाङबाट पैदल यात्राबाट दाङको कोइलावास पुग्ने बाटो

उहाँले भन्नुभयो, “ठीकै छ, यतिसम्म त यत्तिकै रह्यो भने ४ महिना भन्नु कति नै हो र ? बरु बर्सादको समयको यात्रामा अरु समयको भन्दा बढी दु:ख कठिनाइ हुन्छ कि ? ”

“म सक्छु, मलाई कुनै दु:ख हुँदैन । जति दुःख परे पनि टार्न सकिन्छ ।” मेरो यस्तो कुरा सुनेर उहाँले भन्नुभयो  ‘‘हो, समस्या परे समाधानका उपायहरू पनि प्रशस्तै हुन्छन – धैर्य भएर पहिल्याउन सकेमा ।”

यो पनि पढ्नुहोस् :


        ‘रोल्पाका बा’

        रोल्पाको प्रकाशन इतिहासमाथि सिंहावलोकन


र, आफू प्यूठान रातामाटाको मुक्ति हाइ स्कूलको लागि शिक्षा मन्त्रालयको स्वीकृति लिनका लागि साउन महिनामा काठमान्डु जाँदा गहना खोलाको बाढीले छेक्दा खोला घट्ने आशामा पर्खिदैं रित्तो गोठमा बास बसेको र काँचो केरा पोलेर खाइ रात बिताएको कुरा सुनाउँदै मलाइ थप हौसला दिनुभयो ।

अब छाप्न कहाँ जाने भन्ने कुरामा छलफल भयो । किताब छाप्नका लागि कि त काठमान्डु नै जानुपर्थ्यो कि त इन्डिया । र सो को निर्णय लिन मलाइ नै जिम्मा दिनुभयो

कहाँ जाने त भन्ने बारेमा विचार गरेँ, ‘काठमाडौं जाँदा भारतको बाटो जाने आउने गर्नुपर्छ त्यो भन्दा भारतमै छपाउन ठीक होला । नेपालमा भन्दा भारतमा सस्तो पनि पर्ला ।

भारतको गोरखपुरमा छपाउने हो भने मेरो लागि त्यो ठाउँ नयाँ पर्‍यो, वाराणसीमा म २०१८ सालमा जनकपुर मटिहानीबाट परीक्षा दिन गएको र परिचित ठाउँ पनि भएकोले वाराणसीमै जान्छु’ भन्ने निश्चित गरेँ । वाराणसीमा किताब छाप्नका लागि उपयुक्त हुने कुरा सुनाउँदा उहाँबाट स्वीकृति पनि पाएँ ।

राप्ती अञ्चलका रुकुम र रोल्पा नयाँ जन्मेका जिल्ला । प्यूठान, सल्यान, दाङका त पुरानै बडाहाकिमका गौँडा, अड्डा अदालत सरकारी घर सबै थिए ।

भर्खरै विभिन्न थुमहरू काटिएर बनाइएको नयाँ जिल्लाको नयाँ सदरमुकाममा कुनै सरकारी भवन हुने सवालै भएन । सबै नयाँ व्यवस्था गर्नुपर्ने । उहाँ जिल्ला पञ्चायतको भवन निर्माण गराउने अभियानमा हुनुहुन्थ्यो, त्यसैले उहाँ बिहान लिबाङतिर हिँड्नु भयो, म स्कूल चलाउन मिझिङ्गतिर लागेँ ।

म हप्तामा एक दिन मिझिङ्गबाट लिबाङ्ग जान्थेँ । खडानन्दज्यूसँग कहिलेकाहीँ भेट हुन्थ्यो । उहाँ विकास निर्माणको कार्यमा व्यस्त   रहनुहुन्थ्यो ।

जिल्लाका विभिन्न गाउँ पञ्चायततिर पनि भ्रमण गरि राख्नुहुन्थ्यो भने जिल्ला पञ्चायतको निर्माणाधीन भवनको काम उहाँको प्राथमिकतामा थियो ।

हुन पनि सभा बैठक रूखमुनि बसेर गर्नुपर्ने अवस्थामा प्यूठान घन्टीखोलाका गंगाराम नामक शिल्पीको रेखदेखमा बन्दै गरेको त्यो पहिलो पक्की र बान्की मिलेको भव्य सरकारी भवनले लिबाङलाई जिल्ला सदरमुकामको रूपमा विकास हुँदै गएको भान दिन्थ्यो ।

म पनि व्यस्तै हुन्थें- स्कूलका साथै घरको कामकाज पनि हेर्नुपर्ने । यस्तैमा चैत-वैशाख-जेठ र साउन महिना पनि बितेर साउन महिना लाग्न लाग्यो ।

स्कूल पनि बिदा भएको छ साथै घरको खेतीपातीको काम पनि सकिएको छ । अब किताब छाप्ने काममा हिँड्ने विचारले आषाढ मसान्तमा खडानन्दज्यूलाई भेट्न गजुल गएँ । धन्न उहाँलाई घरमै भेट्टाएँ । अर्को दिन साउने सक्रान्ति मनायौँ । भोलिपल्ट किताब छाप्ने विषयको पहिलेको कुरा स्मरण गराएँ ।

“स्कूल पनि विदा भएको छ- घरको अन्य काम पनि केही कम भएको छ- यो फुर्सदको समयमा अब चेतन लहरी छपाउन जानुपर्‍यो” – भनी अनुरोध गरेँ । “हुन्छ जानुस्” भन्नु भयो- र साफी गरेको हस्तलिखित ‘चेतन लहरी’ लेखेको कापी र यात्रा र छपाई खर्च का लागि १६०० रुपैयाँ दिनुभयो । तोला सुनको ५०० रुपैयाँ पर्ने बेलाको त्यो पैसाको मूल्य हिसाब गर्दा अहिलेको तीन लाख रुपैयाँ जति हुन आउछ ।

त्यसै दिन साउन २ गते बिदावारी भइ लिबाङ्गतिर हिँडेँ । केही नसोचेर दनादन हिँड्दै धौलिगाँउ फेदको धनुवाखोला आएँ ।

खोला अलि बढेको थियो, जुत्ता फुकालेँ, सुरुवाल माथितिर सिमलेँ र खोला तरेँ । त्यस लगत्तैको अर्को खोला अलि सानै भएको ठानी जुत्ता लगाएँ र सुरुवाल तल सारेर हिँडे । पल्लो खोला सानै भएकोले हाम फालेर पार गरेँ अनि निपानेको डाँडा काट्न उकालो लागेँ ।

बिस्तारै उकालो हिँड्दै गर्दा चेतन लहरी छाप्ने हिजोका कुराहरू मनमा खेल्न थाले ।

‘मलाई यो छपाइको जिम्मा किन दिनु भएको होला ? सक्छ कि सक्दैन भनेर -मेरो क्षमताको परीक्षा गर्न होला कि या त जिम्मेवारी दिएपछि पाको हुन्छ भनेर पो होला कि – या विश्वासिलो र काम फत्ते गर्न सक्ने अरू कुनै मान्छे नभएर होला कि! ’

यस्तै कुराहरूको तर्कनामा मैले धौलिगाउँ काटेपछि महादेवको स्थान माथितिर सल्लेरीको सुसेलीमा विश्राम गर्दै आफैँले आफैँलाई भने- जे सुकै होस्, मलाई जिम्मा दिएको राम्रै होला । बाबु समान व्यक्तिले मलाइ विश्वास गरि यो काम जिम्मा दिनु नै म माथिको भरोसा हो ।

अर्को चरण उकालो उक्लिएपछि म जुम्ल्याहा पोखरी भएको निपाने डाँडामा पुगेँ – आकासे पानीले टम्म भरिएका दुवै पोखरीको पानी हरियो थियो । उत्तरतर्फ देखिने धौलागिरी हिमालको श्रृंखला टम्म कुहिरोले छोपेको थियो ।

चिसो बतासले एक घन्टा बढी उकालो चढ्दाको जीउको पसिना सुकायो । म ‍ओरालो लागेँ र एक घन्टा ठाडै ओह्रालो बाटो झरेर खोलामा   झरेँ । पान्हा खोलाको बगरै बगरको बाटो समातेर हिँडि रहेँ र गुनाखोला मिसिएपछि भने खोला ठूलो भयो – जुत्ता र सुरुवाल फुकालेर खोलै खोला ठाउँ ठाउँमा तर्दै हिँडे । खोलाको बाटो सकिए/ करीब एक घन्टा तेर्सो बाटो हिँडेपछि लिबाङ ठुलोगाउँ काटेर घर पुग्दा बेलुका भैसकेको थियो ।

त्यस बखतको जिल्लाको सबै भन्दा अग्रगामी- सम्पन्न र प्रभावशाली गाउँ गजुलकोटबाट सदरमुकाम लिबाङको मूल पैदल मार्गको अवस्था चित्रण यस्तो थियो भने अरू भेग सँगको यातायातको एक मात्र माध्यम पैदल बाटोको स्थिति कस्तो थियो होला-सहजै अनुमान गर्न सकिन्छ ।

साउन ७ गतेका दिन वाराणसीतिर हिँड्ने तयारी गरेको कुरा बुवालाई भनेँ–  “किताब छपाउन म आज वनारस जान लागेको छु ।” बुवाले “हुन्छ- जाऊ ‍। एक पटक गइसकेकै ठाउँ हुनाले कुनै अप्ठ्यारो नपर्ला नि!” भन्नु भयो । मैले कुनै अप्ठ्यारो पर्दैन भने पछि ढुक्क हुनु भयो । “आज म काशी जान लागेको छु,” भन्दा आमाले “हुन्छ- तीर्थ त हिँड्न सक्ने उमेरमै जानु राम्रो हो – बरु एक जना साथी लिएर जाऊ” भन्नु भयो।

यो पनि


      नयाँ जिल्लाको रुपमा रोल्पा निर्माण गर्दा 

     मुक्ति सेनाको स्कूलले जुराएका कम्युनिष्ट


२०२३ साल साउन ७ गते- वाराणसीतर्फ प्रस्थान गर्ने दिन । खाना खाएपछि झोला तयार गरेँ । झोला अहिलेको जस्तो सिक्री लगाउने हुदैन थियो, खुल्ला मुख भएको, रङ्गीन ।

लुङ्गी राखेँ –  लगाउने जगेडा लुगाहरू राखेँ । आमाले बाटोमा खान रोटी बनाइ दिनुभएको रहेछ- जहाँ सुकै जे पनि खाने कुरा पाइँदैन थियो -त्यो पनि राखेँ र गम्छाले झोलाको मुख ढाकेँ । मेरो एक वर्षको तलव नौ सय रुपैयाँ हुन्थ्यो । आषाढमा बितेको वर्षभरिको तलव बुझेको थिएँ । त्यसमध्ये रु ४०० आमालाई दिएँ- बाँकी ५०० आफैले राखेँ ।

गजुलबाट ल्याएको सोह्र सय रुपैया र म सँग भएको पाँच सय रुपैया समेत मिसाएर चोरको डर नहोस् भनी सुरक्षाको खातिर रुमालमा बेह्रेर कम्मरमा बाँधेँ- अनि बिदा भएर घरबाट हिँडेँ ।

धनबुह्राको पल्लो टोल-चुत्रेगैह्रा-कालीमाटीपोखरी हुदै सल्लेरी काटेर मसिना डाँडामा पुगेँ । त्यहाँबाट ओह्रालो लागेँ- बाजबिसौना हुदै सल्लेरी काटेर सल्लीबोट गाउँमा पुगेँ र त्यहाँबाट फेरी ओह्रालो झरी उवाखोला हुँदै माडीखोलाको काठेपुल तरेर बाजाबाङ्ग गाउँ पुगेँ ।

बाजाबाङ्ग ठकुरीको घरमा १ रुपैयाको केरा किनी बाटोमा खान भनेर त्यो पनि झोलामा हालें । त्यहाँबाट उकालो लागि सल्लाघारी हुँदै कोछापको डाँडामा पुगेँ । बर्खाको बेला को हिड्ने- बाटो सुनसानै थियो ।

समय त बाँकी नै थियो अलि पर पुग्नलाई, तर अगाडि जाँदा बासको अनुकूलता नमिल्ने भएकोले कोछापमै बस्ने निधो गरें र हामी सधैँ आवत-जावत गर्दा बास बस्ने गरेको पुजारी खड्काको घरमा गएँ ।

हालकाे काेइलावास क्षेत्र

खड्काले मेरो यात्राको गन्तव्यबारे चासो राखे- एक पन्थ दुई काज – भन्दै –  खडानन्दजीले लेख्नु किताब छाप्न र तीर्थ पनि गर्न वाराणसी जान लागेको बताउदाँ निकै उत्सुक हुँदै – “ओहो, किताब पनि तयार गर्नुभएको रहेछ त,” भनी आश्चर्य मिश्रित खुशी व्यक्त गर्नुभयो ।

खड्काले खडानन्दजीलाई राम्रोसँग चिन्ने भएकाले पनि हस्तलिखित कापी खोलेर उहाँले लेखेको ३-४ वटा शीर्षकका कविता उनलाई सुनाएँ- उनी असाध्य खुशी भए र भनि पनि हाले- “ यस्तो राम्रो बिचारको नेता त यो जिल्लाले सात जुनीमा पनि पाउन सक्दैन बाबु – “उहाँजस्तो मान्छेको किताब छाप्ने ठूलो काममा हिँड्नु भएको रहेछ,” उनको कुराले मलाई झनै उत्साहित बनायो ।

“बर्खामासमा यात्रा गर्दा पहाडमा खोला नाला बाढी-पहिरोको डर – मधेशमा बिच्छी, साँप र डुबानको भर हुन्न होशियार भएर हिँडनु होला,” उनले सतर्क गराए । हुन पनि ऊ बेला बर्खामासमा सकसै नपरी हिँडिँदैन थियो पनि ।

उनले राम्रोसँग खानपान र सुत्ने प्रबन्ध मिलाई दिएकोले रात सजिलो गरी बित्यो ।

बिहानै ४ बजे नै निद्रा खुल्यो । घरका मान्छे पनि सबेरै नै उठ्ने रहेछन्- ठूलो घर परिवार- कामकाज गर्नुपर्ने भएर होला । त्यहाँबाट जङ्गलै जङ्गल भएर जाने बाटो हिँड्नुपर्ने हुँदा बिहानै उठे पनि अँध्यारोमा हिड्न डर लाग्यो । आधा घण्टा जति पर्खेर साढे चार बजेतिर हिँडेँ – बिहानै हिँडेँ बाटो काटिन्छ।

एक वर्ष अघिसम्म त्यो बाटो पालुथानबाट सिधै ओह्रालो झरेर धनारा- कल्लेरी गाउँ हुँदै कोछापखोला झरेर खोलैखोला हिँडेर उँघाको मुनिसम्म जानुपर्थ्यो र ठाडै उकालो चढेर उघाँको डाँडो पुग्नु पर्थ्यो ।

बगरमा बाटो पहिल्याउदैँ खोलै-खोला हिँड्न साह्रै अप्ठ्यारो हुन्थ्यो- खासगरि वर्षायाममा त ज्यानै पनि जाने । खडानन्द सुवेदीज्यू जिल्ला सभापति भएपछि पहिलो काम- त्यो बाटो बनाउन लगाउनु भयो ।

लिबाङ सदरमुकामलाई दाङसँग जोड्ने मूल बाटो भएकोले त्यो उहाँको पहिलो प्राथमिकतामा परेकोले नयाँ बाटो खनेपछि सजिलो भएको थियो ।  कोछाप डाँडाबाट तेर्सो- जङ्गलै जङ्गल लापखोला हुँदै लिबाङीआँप र त्यहाँबाट अलि उकालो उकालो हुँदै उघाँगाँउ पुग्ने बाटो तयार भएको हुँदा खोला तर्नु नपर्ने र धेरै उकालो ओह्रालो पनि हिँड्न नपर्ने- सजिलो बाटो तयार गराउनु भएको थियो ।

सोही बाटो भएर सरासर हिँड्दै रहेँ । करिब आधा घण्टा जति अँध्यारोमै हिँडेँ । बाटो सजिलो भएकोले गाह्रो भएन । बिहानको साढे ६ बजेतिर लिबाङीआँप पुगेँ । भीर अनि ठाउँ-ठाउँमा खोल्सी, कतै जङ्गल र कतै सम्म परेको तर खेती नगरेको ठाउँ हुदै खनेको बाटोले गर्दा सुबिस्ताले उघागाउँ पुगेँ ।

बिहानको खाना खान धौलाबाङ्ग पुग्ने विचारले उघाँमा आराम नगरि डाँडा काटी सिधै ओह्रालो लागेँ । ठाडै बाटो खोला झरेँ र दुवै खोला पार गरि सल्लेरी काटेपछि धौलाबाङ्गको गाउँ आयो ।

त्यहीँको चिनारू ( चिनेजानेको) ओलीको घरमा पसेँ । ‘मलाई खाना खान दिनुपर्‍यो’- भनी अनुरोध गरें । मैले भात आफैँ पकाएँ- उता तरकारी पाक्यो – दही पनि थियो । खाना खाएर पाँच मिनेट जति मात्र बसेँ ।

हिँड्न तरखर गर्दै खानाको पैसा दिन खोजेँ- लिनै मानेनन् । धेरै अनुरोध गरें- ‘कर नलगाउनुहोस् भाइ – तपाईँ चिनेको मान्छे- फेरि एक छाक पाहुना खुवाउने त हाम्रो धर्म पनि हो- यो पैसा अन्तै खर्च गर्नुहोला- राम्रोसँग जानुहोला फिर फर्कदाँ खाना खाने गरि आउनु होला’ भन्ने जबाफ पाएँ । अहिले त सारा समाज स्वार्थ र लोभको व्यापारी भइसके – त्यस बखतको जस्तो मानिसहरूको ठूलो मन बिरलै देखिन्छ ।

त्यहाँबाट हिँडेको केही समयपछि ढुङ्गा फाल्ने अनि त्यहाँबाट पनि केहीबेर तेर्सो तेर्सो हिडेपछि राम्चे भन्ने ठाउँमा पुगें । राम्चेको डाँडामा जीउको रङ अनि लगाएका कपडाको रङ पनि सुनौला भयो- त्यहाँको रातो माटोमा प्रकाश परावर्तन हुँदा सुनौलो देखिने र दाङ उपत्यकाको  समतल भूभाग पनि देखिने हुँदा गन्तव्य नजिक पुगेको भावनाले हिँडाइले थकित यात्रीमा एक प्रकारको रोमाञ्चकता अनुभूत हुने गर्दथ्यो ।

त्यहाँबाट ओरालो झरेपछि ठूलो खोल्सी भेटियो, अझै अगाडि फेरि अर्को अझ ठूलो खोल्सी पुगिन्थ्यो । यी दुई खोल्सी भेट हुने ठाउँ (दोभान) लाई दुई खोली भनेर जानिन्थ्यो । अहिले त दुई खोलीमा खोला तरेपछि पाखै–पाखाबाट जाने बाटो छ, त्यसैले धेरै सजिलो छ- तर त्यसबेला त्यो बाटो थिएन, सेवार खोलै खोलाको बाटो ठाउँ–ठाउँमा खोला तर्दै जानुपर्दथ्यो । बाढी आएको बेला झन् गाह्रो हुन्थ्यो ।

म पनि दुई खोलीबाट त्यहि सेवार खोलाको बगरको बाटो हिँड्दै गएँ । निकै  हिँडेपछि बल्ल बगाले भन्ने ठाउँमा पुगेँ – हिउँदमा त्यहाँ बगर छेउमा रुकुम-रोल्पाकै पर्वत भेगका मान्छेहरूले अस्थायी छाप्रो हालेर सानोतिनो मौसमी पसल चलाएको भेटिन्थ्यो- बर्खामा त त्यो पनि हुँदैन थियो । त्यहाँ केही बेर सुस्ताएँ र घोराही जाने बाटो छोडेर बाह्रकुने ताल तिरको बाटो हुँदै लेटार तर्फको बाटो समातेँ- मेरो ठूली आमाको माहिला छोरा कृष्णप्रसाद आचार्यको बसोबास लेटारमा थियो । रातको बास उहाँकै घरमा भयो ।

भोलिपल्ट अर्थात् २०२३ साल साउन ९ गतेको बिहान ६ बजे मात्र उठेँ, अघिल्लो दिन ४ बजे नै उठेको र दिनभरको हिँडाइको थकानले    होला । भाउजूले बिहानै खाना तयार गरिदिइसक्नु भएको रहेछ – खाना खाएर केहीबेर आराम गरी साढे सात बजेतिर दाई भाउजूसँग बिदावारि भएर घोराही बजार तर्फ हिँडे । तर, त्यहाँ अलमल गरिन – लमही जाने बाटो  समाते – कटुवा खोला तरेर चौघेरा हुँदै बबई नदी तरेँ ।  कुईरेपानीबाट हलुका उकालो हुँदै चौपट्टा आएँ ।

चौपट्टाको नाकाबाट अप्ठेरो ओरालो झरेर मसोट खोला पुगेँ । बर्खामासको मसोट खोला धमिलो थियो- तर्न अलि डर लाग्यो ।  खोलाले बगाएर ल्याएको लट्ठीजस्तो काठ भेटियो- त्यही टेकेर खोला पार गरें । अर्को ठाउँमा पनि चाहिन्छ कि भनी लट्ठी पनि साथै लिएर हिँडेँ ।

बेलदम्हार भनिने जंगलको बाटो भएर लमहीको पश्चिम तर्फको अर्जुन खोला पुगेँ, खोला निकै ठूलै थियो तर फिँजिएको थियो । मसोट खोला तर्दा खोलेको सुरुवाल लगाएको थिइन। जुत्ता फुकालेँ- कम्मरमा बाँधेको पैसा खोलाको पानीले भेटाउला जस्तो लाग्यो र निकालेर झोलामा राखेँ । देब्रे हातमा जुत्ता बोकेँ, कमिज फर्काएर माथितिर घुसारेँ- सुरुवाल घाँटीमा बेह्रेँ, दाहिने हातले लट्ठी टेकेँ र खोलामा पसेँ ।

खोलाको पानी कम्मर माथिसम्म पुग्यो- तर सर्ट र झोला धेरै माथि सारेकोले भिजाएन । खोलाको बहाव निकै तीव्र रहेछ- खुट्टा धर्मरायो  । ‘खोला तर्दा तिघ्रा नकमाउनु’ भन्ने उखान सम्झिदै दह्रो खुट्टाले टेक्दै बडो मुस्किलले खोला पार गरेँ । झोलामा राखेको पैसाको पोको झिकेर फेरि कम्मरमा बाँधेँ अनि त्यहाँबाट हिँडेँ । आधा घण्टा जति हिँडेँपछि लमहीको पुछारतिर पुगेँ- लमहीमा के थियो र ? ८-१० वटा झुप्रा-झुप्री त थिए नि ।

आजै कोइलाबास पुग्नु पर्ने भएकोले लमहीमा बस्नतिर लागिन – लगातार हिँडी रहेँ । लमहीबाट केही समय गढवातर्फ हिडेँपछि राप्ती नदीको किनारमा पुगेँ – त्यहाँ डुङ्गा लागिराखेको रहेछ- राप्ती पार गरेँ । डुङ्गाले नदी तारेको २५ पैसा लिँदो रहेछ । त्यहाँबाट केहीबेर हिँडी गढवा पुगेँ र एउटा छाप्रे होटलमा चियासँग घरबाट हिँड्दा आमाले झोलामा राखिदिनु भएको रोटी खाएँ । मलाई सम्झना छ चियाको मूल्य २५ पैसा तिरेँ।

अब पनि हिँड्न हतार नै छ । बाटो जङ्गलको बीचबाट थियो, केही हिँडेपछि खोला भेटियो- गढवा खोला । खोलै-खोला धेरै माथि गएपछि आमबास भनिने सानो बस्ती भएको स्थानमा पुगियो तर त्यहाँ पनि थकाई मार्न बसिन- हिँडी रहेँ । माथि चुरेको डाँडोमा पुगेपछि कोइलाबास पारिको भारतको समतल जमिन कुहिरोको बीचबाट अलिअलि देखियो ।

डाँडामा केही हटारु भेटिए- नुन लिन हाट जानेलाई हटारु भनिन्थ्यो । ती हटारुहरूमध्ये पहिलो पटक गएकोले त्यहाँ पुगेपछि नाच्नु पर्ने चलन थियो- पाको हटारुहरूको थपडीमा किशोर हटारु नाच्दै थिए ।  त्यहाँ रुखमा ध्वजा चढाउने रहेछन्- मैले पनि एउटा रुखमा ध्वजा चढाएँ र यात्रा सफल होस् परमेश्वरी भनी पुकारा गरेँ ।

भारतसँग जोडिएको कोइलाबास नाका राप्ती अञ्चल भरकै प्यूठान, रुकुम, रोल्पा र दाङको निकासी–पैठारीको सबै भन्दा ठूलो बजार थियो । पैदल पुग्न सकिने सबै भन्दा नजिकको सीमा बजार – घ्यू, जडिबुटी बेच्ने र नुन-तेल, मट्टितेल आदि किन्नेहरूको हिउँदमा त लस्करै चलिरहन्थे ।

डोको बोकेका हटारु कोइलाबास आउने र जाने क्रम मंसिरदेखि बाक्लै सुरु भएर चैत वैशाखसम्म रहन्थ्यो र औलोको मौसमसँगै पातलिदैं जान्थ्यो – बर्खामा निकै कम हुन्थ्यो फाट्टफुट्ट – व्यापार गर्नेहरुको भरियामात्र सामान बोक्न जान्थे । धेरैपछि बहादुरगंज, कृष्णनगरतर्फ पूर्व पश्चिम राजमार्गको ट्रयाक खुलेपछि कोइलाबास नाकाको व्यापार घट्दै गयो र उजाडियो ।

चुरे पहाडको श्रृङ्खलालाई जामुनीबासमा छिचोलेर निकै ओह्रालो बाटो काटिसकेपछि अर्थात् कोइलाबास खोला नजिक-नजिक पुग्दा पश्चिम किनार तर्फको पहरामा तल खुट्टा टेक्ने काठ अनि माथि समाउने काठ तेर्स्याएर बाटो बनाएको रहेछमाथि तेर्स्याइएको काठ समातेर पहरतिर फर्केर तलको काठमा बिस्तारै पाइला घिसार्दै पार गर्नुपर्ने ।

तल खोलामा डरलाग्दो रह (खोलाको बग्ने पानी कुनै ठाउँमा गहिरोसँग जमेको ठूलो पोखरी जस्तो ) देखिन्छ- खुट्टा अलिकति रड्कियो या चिप्लियो कि खसेर त्यही रहमा डुबेर मर्ने हो । मैले बल्ल तल्ल त्यो धराप बाटो पार गरें – भरियाले पनि त्यहीँ डरलाग्दो ठाउँबाट डोकोसहितै बाटो पार गर्नुपर्ने – अर्को बाटो नै थिएन । त्यसको नाम ‘दरबाजा’ राखेका रहेछन् । यो दरबाजा मुलुकीका लागि ‘डरबाजा’ नै रहेछ । त्यहाँबाट आधा घन्टा हिँडेपछि कोइलाबास बजार देखियो । धेरैजसो भारतबाट व्यापार गर्न आएका व्यापारीहरूको रजगज।

कोइलाबास बजारमा पुगेर एउटा होटलमा झोला राखेँ । र दाङका धनी व्यापारी, नाम त थाहा थिएन – खिमबहादुर शाह र रणबहादुर शाहलाई त चिनेको थिएँ । उनीहरूकै दाइ–भाइ हुन कि?- सबैले ‘काले बाबु’ भन्ने गर्दथे । उनलाई भेट्न गएँ । “हाम्रो पहिलो भेट हो,”- नमस्कार भनेँ र “म रोल्पाको मानिस- मेरो नाम चिन्तामणि आचार्य,” भनेँ । उहाँले- “कहाँ जान आउनुभएको हो?” भनेर सोध्नुभयो । “बनारस जान आएको हुँ, यहाँसँग एउटा कुरा भन्न मन लागेर आएको छु,” भनेँ । ‘भन्नुस् के भन्नु छ’- भन्नुभयो । व्यापारी मान्छे – कुराकानी राम्रै मिजासिलो नै गरे ।

“यहाँहरू बसेको ठाउँ यो कोइलाबास बजार आइपुग्ने बेलामा त्यो दरबाजाको बाटो साह्रै अप्ठ्यारो र खतरनाक रहेछ, त्यो बाटो बनाउनुपर्ने; धन कमाउनुका साथै धर्म पनि कमाउनुपर्ने । माथितिरबाट मानिसहरूलाई यहाँ नआइ व्यवहार चल्दैन तर आउन जान धेरै कठिन रहेछ ।

हजुरहरू त घोडाबाट आवत-जावत गर्ने होला- ज्यान जोखिममा राखेर भरिया मान्छे हिँड्नु पर्ने अवस्था देखेँ – मलाइ ज्यादै दु:ख लाग्यो र त्यही अनुरोध गर्न आएको हुँ – साहु-महाजन मिलेर पैसै उठाएर भए पनि त्यो बाटो त सजिलो बनाउनु पर्ने – भरियाहरू त कसरी हिँडछन् होला भनेर पनि विचार गर्नुपर्ने,” मेरो सुझावमा उनले – “कुरा त ठीकै भन्नुभयो तर त्यो भीरको पहर काट्न धेरै अप्ठ्यारो छ, त्यसैले त्यसलाई छलेर अन्त कतै तिरबाट बाटो निकाल्न सकिन्छ कि भनेर हेरिराखेको छौं,” भने । यस्तै अरु सामान्य कुराकानी पनि भए । कुरै कुरामा- खडानन्दजीको नाम निकै सुनेको छु – त्यागी नेता हुनुहुन्छ रे भन्ने सुनेको छु – पनि भने ।

साँझ परेपछि वासस्थानमा गएँ र खानपिन गरी सुतेँ ।

भोलिपल्ट साउन १० गते बिहान ५:३० मा उठेँ र दैनिक कार्य गरें ।

७ बजे सटही काउन्टरमा गएर ११ सय भारु साटेँ । भारु ३० ले बनारस पुगिएला भन्ने सोची जेबमा राखेँ- बाँकी रुमालमा बेह्रेर कम्मरमा बाँधे । नेपाल पहाड तिरबाट गएकाहरूको जेब काटिएको- रुपिञा-पैसा चोरिएको – ठगिएको जस्ता घटना सुनीराखिने भएकाले पनि निकै चनाखो हुनुपर्थ्यो ।

आजको लागि खाना खाइहाल्नु पर्यो भन्ने सोची मिठाइ पसलमा गएँ र तरकारी पुरी  थपीथपी खाएँ । कति पैसा भयो भनी सोध्दा मात्रै ५० पैसा भएको रहेछ- मलाई त अचम्म पनि लाग्यो ।

बिहानको ८ बज्नु अगाडि नै कोइलाबासबाट सीमातर्फ लागेँ – बोर्डर पार गरेर करिब एक घन्टामा भारतको जरवा रेलवे स्टेशनमा पुगें । र, गैँसडीको लागि टिकट काटेँ- ५० पैसा लिँदो रहेछ । त्यस बखतमा दिनमा एक पटक जरवासम्म नै रेल आउने हुनाले निकै सुबिस्ता थियो – बोर्डर पार गर्ने बित्तिकै रेल चढ्न पाइने ।

बिहानको ठीक ९ बजे रेल आयो – र आधा घण्टापछि त्यहाँबाट छुटी पनि हाल्यो- आधा घण्टामा गैँसडी पनि पुगिहाल्यो। अब दिनभर त्यहाँ कुर्नुपर्‍यो – दिउँसो साढे २ बजे गोरखपुर जाने रेल आइपुग्ने रहेछ । गोरखपुर सम्मको टिकट काटिसकेको थिएँ- भारु ३ लिदोँ रहेछ । रेलगाडी रोकियो – म भित्र पसें र सिटमा बसें । रेल विभिन्न स्टेशनमा रोकिदैँ बेलुका ८ बजे गोरखपुर पुग्यो ।

रेलबाट ओर्लेर प्लेटफार्ममा वाराणसी सिटी सम्मको टिकट किने-  भारु ७ मात्र भाडा लाग्दो रहेछ । केही बेर प्लेटफार्ममै यताउता घुमघाम गरेर समय कटाएँ । ११ बजेको केही बेरमै रेल गाडी आयो ।

गाडी भित्र पसेँ- कोचाकोच थियो । माथि हेरेको बर्थ खाली नै थियो- उक्लिहालें । झोला सिरानमा राखेँ र सुतेँ । २ बजेतिर टिकट चेक गर्न आएको टिकटिकेले उठाएर “टिकट है की नही ?” भनेर सोध्यो । मैलै ‘है’ भन्दै टिकट देखाएँ उसले हातको मेशिनले प्वाल पार्‍यो र टिकट फिर्ता दियो- म फेरि सुतेँ ।

पैसा राखेको रुमाल भित्रतिर पारेर म सुत्थें र झोला सिरानीमै थियो । बिहान ४ बजेतिर निद्रा खुल्ने बित्तिकै छामेँ – धन्न केही हराएको रहेनछ । तलको सिट हेरेको- खाली रहेछ अनि ओर्लिएर सिटमा बसेँ ।

औडिहार जङ्सन आइपुगिएछ । त्यहाँबाट वाराणसी सहर ६६ किलोमिटर टाढा छ भन्ने थाहा पाएको थिएँ । औडिहारबाट रजबाडी, कादीपुर, उमरहा, सारनाथ हुँदै वाराणसी शहर- रेलको करीब एक घण्टाको बाटो । विहान ६ बजेतिर ‘वाराणसी सहर’ पुगेर रेल रोकियो ।

ओर्लेर प्लेटफार्मबाट बाहिर आएँ, रिक्सा बोलाएँ –  ‘निचीबाग ले चलो’ भने । रिक्सावालाले  ‘दो रुपये दिजिएगा’ भन्यो-  मैले ‘हम तो स्टुडेन्ट है, यहाँका रिक्साका रेट सब जानते हैं’ भनें उसले ‘१ रुपये दिजिएगा’ भन्यो । मैले ‘५० पैसा देंगे’ भनेपछि ‘बैठिए’ भन्यो । म रिक्सामा बसें । केही समयपछि निचीवाग पुगियो, ‘हितैषी प्रेसका सामने लेजाओ’ भने उसले प्रेसको गेटमै पुर्‍याइ दियो । ५० पैसा दिएँ । टुटे फुटे जति हिन्दी भाषा जानेको थिएँ – त्यसैबाट काम चल्यो।

बिहानको ७ बजिसकेको रहेछ – प्रेसभित्र पसेँ । प्रेसको साहुजी त्यहीँ रहेछन् -अरु काम गर्ने मान्छे आइसकेका रहेन छन् । साहुजी यिनै होलान् भन्ने ठानी नमस्कार गरेँ – उनले पनि नमस्कार फर्काए र ‘बैठिए’ भने ।

म बसें र भनें- “पश्चिम नेपाल से आये है, एक पुस्तक छपाना है । ” “ठीक है हमारा काम ही छपाईका है – आप बहुत दूर से आए है- हमारा अतिथि भी है,” उनले भने । “आपको रहेनेके लिये एक कमरा दे देंगे- दिनका खाना हमारे साथ ही इ- ईनके पैसे नही लगेगा । नास्ता वास्ता और रात्रि-खाना अपना खर्चमे खाइएगा,” भने । साहुजीले कोठा देखाइदिए, सफा ओच्छ्यान सहितको खाट थियो । होटेलको भाडा पनि तिर्नु परेन – एक छाक खानाको पनि पैसा नलाग्ने भएपछी म पनि खुशी भएँ । छपाईको काम नसकुन्जेल अब ढुक्क भयो ।

त्यस दिन २०२३ साल साउन ११ गतेको दिन थियो।

म गङ्गाजीमा गएर स्नान र जप गरेँ । र फर्केर आउँदा यौटा चिया पसलमा चिया र समोसा खाएँ । चिया- समोसाको ७५ पैसा तिरेँ । उस बखतमा सबै चिज सस्तो थियो र ताजा पनि पाइन्थ्यो।

बिहान १० बजेतिर एक जना कोठामा बोलाउन आयो । त्यहाँ प्रेसमा कम्पोजिङको काम गर्ने मानिस रहेछ – प्रेसको साहुजी पनि त्यहीँ थिए । छाप्ने कापी मागे- मैले दिएँ । ‘अच्छा ! अब ये कम्पोजिङ्ग करेंगे, आप को चेक करना पडेगा’ भने र कम्पोजिङ चेक कसरी गर्ने भनेर तरिका सिकाए- त्यो भनेको प्रुफ रिडिङ रहेछ । अक्षर थप्ने- हटाउने- मात्राहरू राख्ने सबै तरिका सिकाए- तालिमजस्तै गराए- मलाई पनि नयाँ प्रकारको काम रमाइलो लाग्यो ।

११ बजेतिर खाना आयो- दाल, भात, तरकारी, चटनी साथै मलाई मन पर्ने रोटी पनि   खाना खाएपछि “अब जाइए आराम किजिये ” -साहुजीले भने । उनीहरू प्रेसमा कम्पोज गर्न लागे – म फुर्सदिलो भएँ ।

भोलि साउन १२ गते बिहान ८ बजे प्रेसको मानिसले बोलाए । हिजो कम्पोज गरेको पेज छापेर मलाई हेर्न दियो- मैले सच्याएर दिएँ । ११ बजे खाना आयो – खाना खाइ आराम गर्न कोठामा गएँ । दैनिक यही प्रक्रिया छपाई अवधिभर चलिरह्यो- बिहान ८ बजे, ११ बजे र दिउसो १ बजे प्रेसमा पुग्ने र कम्पोज गरिएको पेजहरूको प्रुफ हेर्ने- बाँकी समय आफुखुशी घुमघाम गर्ने।

पुस्तक- ५०० प्रति छापिने भएको थियो । त्यति बेला त्यो संख्या भनेको ठूलै थियो।

पुस्तकको भूमिका ‘नम्र निवेदन’ शीर्षकमा लेखक स्वयंले लेख्नु भएको थियो । त्यस्मा छाप्न जाने काम कसले गर्‍यो त भन्ने कुरा छुटेको जस्तो लाग्यो । त्यसैले -‘यो पुस्तक छपाउन किन्चित सहयोग गरेकोले रोल्पा लिबाङ निवासी चिन्तामणि आचार्यलाई धन्यवाद ज्ञापन गर्दछु ” – वाक्य प्रुफ रिडिङ गर्दा थपिदिएँ ।

शायद त्यो कुरा पुस्तकमा नछापिएको भए अभिलेख हुने थिएन होला – र, आज मलाई यो संस्मरण – यो कथा लेख्न कसरी सम्झन्थे होलान् र ? त्यस बखतमा त्यो किताब छापेर ल्याऊनु सामान्य कुरा थिएन – आजको जस्तो सजिलो यातायात, सजिलो छपाइको जमानामा त्यस बखतमा  कति कठिन र दुर्गम्य थिए भनेर बुझ्न पनि त गाह्रै पर्ला।

२०२३ साल साउन १८ गते बेलुका छपाइको काम सकियो- ७ दिन लाग्यो भित्री पेज छाप्नलाई मात्र । अब भित्री र बाहिरी कभर बाँकी छ – त्यसको कम्पोज पनि तयार भयो ।

भोलिपल्ट १९ गते कभर छपाइ र टाँस्ने काम पनि सकियो ।

हल्का पहेँलो गाता भएको चेतन लहरी पुस्तकको खात मेरो अगाडि थियो । नयाँ छापिएका पानाहरूबाट कागज र मसी मिसिएको एक प्रकारको गन्ध प्रेस कोठामा उडिरहेको थियो। र, छपाई सकिएको मेरो प्रफुल्लतामा त्यो सुवास पनि मिसिएको हो कि हो कि जस्तो मलाई महसुस भइरहेको थियो ।

गन्ती गरेर प्याक गर्ने काम भयो । ५०० प्रति चेतन लहरीको भारी – एक बोरा भयो – मैले उठाउनै नसक्ने गरी गह्रुङ्गो। पुस्तक छपाइको खर्च जम्मा भा रु १००० को बील बनेको जानकारी पनि मैले पाएँ ।

साँझ ४ बजेपछि गङ्गाजीमा गएँ, एउटा जल राख्ने भाँडा किनेको थिएँ- त्यसमा घर लैजानको लागि गगाजीको जल भरेँ । बजारतिर घुम्दै गर्दा बनारसको प्रख्यात साडी पनि किने र फर्केर सुतेँ ।

साउन २० गते बिहान दैनिक कार्य पुरा गरेँ र ८ बजेतिर प्रेसका साहुजीकहाँ गई बिदा माग्दा साहुजीले- गोरखपुरको लागि ट्रेन साँझ ८ बजे मात्र लाग्ने जानकारी दिँदैं बिहानको खानपिनपछि दिउँसो घुमफिर गरेर आरामका साथ साँझ मात्र हिँड्न सुझाव दिए।

बिहानको खाना खाएपछि म ११ बजे सहरतिर घुम्न निस्किएँ । २०१८ सालमा जाँच दिन बस्दा घुमेका ठाउँहरू -विश्वनाथको नयाँ मन्दिर, भित्तामा पूरा रामायण लेखेको ठाउँ, संकटमोचन आदि ठाउँ घुमेँ । वाराणसीको लामो पुल तरेर मङ्गलसराय स्टेशन तिर पनि गएँ ।

फर्केर साँझ ६ बजे प्रेसमा गएँ – साहुजी प्रेसमै रहेछन् ।

“साहुजी अब जाएँगे- आपको बहुत बहुत धन्यवाद है” भन्दै भारु १००० दिएँ । वाराणसी, निचीवाग स्थित हितैषी प्रिण्टिङ्ग वर्क्सका मालिक – हाम्रो ‘चेतन लहरी’ पुस्तकका मुद्रक — सहादुरराम कुशबंशी, (फोन नं ५१३३)- मलाई साह्रै मिजासिला- सहयोगी र भद्र व्यवहारका लागेकोले मोल मोलाई गरेर पैसा घटाउन मन पनि लागेन ।

उनले  ‘फिर भी आइयेगा ’ भनेर मलाई बिदाइ गरे ।  तर फेरि कहिल्यै जान अनुकूल भने परेन । अहिले सम्म जीवितकै त के होलान् र ? उनी नभए पनि छोराहरू त होलान् ! सद्व्यवहार भनेको ठूलो सम्पत्ति रहेछ – आजभन्दा ५५ वर्षअघि भेटिएका उनको सरल व्यवहारले होला – म आज पनि उनीप्रति कृतज्ञ छु ।

रिक्सा बोलाएर भारी देखाएँ र ‘रेल स्टेशनमे ले जाओ’ भनेँ । एक रुपैयाँ भाडा माग्यो, दिन मन्जुर भएँ । साहुजीसँग बिदा भएर त्यहाँबाट हिँडे । ९-१० दिन बसेको ठाउँ -अलि नरमाइलो पनि लाग्यो ।

रेल स्टेशनमा पुगेपछि प्लेटफार्ममा भारी राख्न लगाएँ र टिकट काट्न गएँ । गोरखपुरको लागि टिकट काटेँ भारु ७:५० रहेछ । रेल ८ बजे त्यहाँबाट छुट्ने रहेछ । प्लेटफार्ममा यताउता घुमेर समय बिताउन थालेँ । ७:३० मा रेल गाडी आयो – गाडीमा चढेँ । भारी कुल्लीलाई चढाउन जिम्मा दिएँ- ५० पैसा ज्याला लियो ।

राती १० बजेतिर टिकट चेक गर्न आयो, टिकट दिएँ । ‘ये सामान किसका है?’ भन्यो, ‘मेरा है’ भनेँ ‘पास है?’ भन्यो ‘नहीँ है’ भनेँ । ‘५ रुपये दो’ भन्यो मैले ‘व्यापार के सामान नहीँ है- पुस्तक छाप के लाये है”  भनेँ – धेरैबेरसम्म कचकच गरिरह्यो, मैले पनि आफ्नो ढिपी छाडिन । केही बेरको गलफत्ति पछि उ गयो- म ढुक्कसँग बसें ।

सुत्न त्यति अनुकूल पनि परेन- म सिटमा बसेँ अनि भुइँमा राखेको किताबको भारीमा टाउको अड्याएँ- केही बेर त निदाएछु ।

बिहान ४ बजेतिर रेल गोरखपुर पुगेर रोकियो । मैले किताबको बोरा तान्दै ल्याएर प्लेटफार्ममा राखें र कोइलाबास नजिकको स्टेशन तुल्सीपुरसम्मको टिकट काटेँ- भाडा भारु ३:५० लियो । बिहानको ११ बजे मात्र ट्रेन छुट्दो रहेछ । १० बजेतिर होटलमा गएर खाना खाएँ र आएर प्लेटफार्मको बेन्चमा बसेँ ।

गाडी आएपछि कुल्लीलाई भारी राख्न लगाएर भित्र पसेँ । विभिन्न स्टेशनमा रोकिदैँ साँझ ६ बजे ट्रेनले बल्ल तुल्सीपुर पुर्‍यायो- भारी तान्दै रेलबाट ओर्लेँ । कुल्लीलाई ‘कोइलाबास जाने वाला बस में ले जाओ’ भने पछि तुल्सीपुरबाट कोइलाबास जाने बस लागिरहेको रहेछ – त्यस्मा लगेर चढाई दियो -१ रुपैयाँ दिएँ ।

एक घन्टामा बसले कोइलाबास पुर्‍यायो- कुल्ली लागिरहेका रहेछन् । अलि बलियो जस्तो देखिनेलाई बोलाएँ र खोला पारको होटल सम्म पुर्‍याउन लगाएँ । “भोलि दाङ्ग घोराही जान्छौ ?’” भनी सोधेको उनी जाने भए । ‘“कति रुपैयाँ लिन्छौ,” भन्दा “२०० रुपैयाँ दिनुस्” भने । मैले “१५० रुपैया दिन्छु- हुन्छ ?” भनेर गरेको मोलमोलाइमा उनी मञ्जूर भए । “भोलि बिहानै यहाँ आउनु – खोला नबढे बिहान ६ बजेतिर हिडौँला, खोला बढ्यो भने कुर्नुपर्ला,” भनेर भरियालाई पठाएँ ।

राती ठूलो पानी पर्‍यो, खोला बढेकोले बिहानै हिँड्न नसकिने भयो । कोइलाबासमै खाना खाएर हिँड्दा बिहानको ११ बजिसकेको थियो । भारीसँग सुस्त-सुस्त हिड्दै जाँदा ४ बजेतिर गढवा पुग्यौ ।

लमहीमा बास बस्ने विचार थियो । होटलमा चिया खाएर गढवाबाट हिँड्ने तरखरमा थियौँ-  त्यसै समयमा खडानन्द सुवेदी र रेगबहादुर सुवेदी राप्ती नदी पार गरेर त्यहाँ पुग्नुभयो ।

उहाँले –“राम्रै आउनुभयो ? केही दु:ख भयो कि? पैसा पुग्यो कि पुगेन?” आदि कुरा सोध्नुभयो । मैले पैसा पनि पुग्यो – दुःख पनि भएन, यात्रा सफल भयो छपाइको काम पनि राम्रोसँग भयो भन्दै भरियाको डोकोमा बोराभित्र प्याक गरिएका किताबहरूतर्फ देखाएँ । उहाँले प्रसन्नता व्यक्त गर्नुभयो ।

“हजुरहरू कहाँ सम्मको लागि त?,” –  मैले सोधेँ । खडानन्दजीले- “हामी काठमाडौं जानको लागि हिँडेको,” भन्नु भयो ।

केही बेरको कुराकानीपछि मैले ‘अब हिँडौ कि ? राप्ती पार गरेर लमहीसम्म बास बस्न पुगिएला कि भन्ने विचार छ । राति कथँ बर्सात भयो भने पनि भोलि बिहान उर्लेको राप्ती तर्न फेरि नदी घट्ला कि भनेर दिनभरि पर्खनु पर्दैन,” भने।  रेगबहादुरजीले “हामीले पार गर्ने बित्तिकै नदी बढेको छ – डुङ्गावालाले आज अब डुङ्गा चल्दैन- भोलिमात्र हुन्छ भनेका छन् । जाने कुरै छैन- आज यहीँ बस्ने हो, हामी पनि यहीँ बस्छौ,”’ भन्नुभयो ।

त्यस राति त्यहीँ गढवाकै होटलमा बास बस्यौँ । राति कुराकानी हुँदा – जिल्ला सभापति खडानन्दजीको जोड बलमा जिल्ला सदरमुकाम लिवाङमा बन्दै गरेको जिल्ला पञ्चायत भवनको निर्माणको काम रापंस नारायणप्रसाद चन्दजीले केन्द्रबाट रोकाएका रहेछन्

भवन निर्माण कार्य किन र कस्तो खण्ड परेर रोकाइएको रहेछ – कारण पनि बुझ्नु पर्‍यो र केन्द्रले गरेको यो गलत निर्णय हो भन्ने बुझाएर रोक्का पनि फुकुवा गराउनका लागि काठमान्डु जानु परेको भन्दै उहाँहरूले बर्खामासमा यो यात्रा गर्नु परेको कुरा बताउनु भयो ।

फेरि मैले- “माननीय बालाराम घर्ती काठमान्डुमै हुँदाहुँदै उहाँले नै फुकुवा गराए भइहाल्थ्यो नि किन यो बर्खे भेल तर्दै हजुर आफै रोल्पाबाट काठमान्डु पुग्नु पर्नेगरि  दुःख दिएका त?” भनेर जिज्ञासा राखी हालेँ । उहाँले निराशा भावमा – “खै फुकुवा गराएनन् क्यारे, सदरमुकामको लागि अत्यावश्यक त्यत्रो पहिलो भवन निर्माण गराउन थालेको छु – उनले पनि कसैले व्यक्तिगत र निहायती स्वार्थका खातिर काम रोक्न दिनु हुन्न भन्ने बुझेकै हुनुपर्ने हो – केन्द्रले बुझ पचाएको भए टेबुल ठटाएर पनि बुझाउने काम त उनले गर्नुपर्ने – गरेनन् – त्यसैले जानै पर्ने भयो’ भन्नुभयो । तपाई युवा हुनुहुन्छ – पाको हुँदै जाँदा बुझ्दै जानुहोला – यौटा कुरा गाँठो बाँधेर राख्नुस्-  घिच्याएको कुकुरले मृग मार्दैन –बाबु ।”

भोलिपल्ट बिहानै ५ बजे नै उहाँहरू हिड्नुभयो । हिँड्नु अघि मैले पनि आफ्नो तात्तातो अनुभवको आधारमा उहाँहरूलाइ सल्लाह दिएँ – “बेतोड हिँड्दा पनि यहाँबाट कोइलाबास पुग्दासम्ममा जरवाबाट गोरखपुर जाने रेल छुटिसक्छ – समात्न भ्याएँदैन ।

बर्खाले बाटो निकै अप्ठ्यारो बनाएको छ । कोइलाबासबाट तुल्सीपुर बस घण्टा-घण्टामा जान्छन्, त्यसैले बसबाट गएपछि सजिलो हुन्छ – दिउँसो २ बजेसम्म तुल्सीपुर पुगेर उताको रेल समात्नु होला । कोइलाबास पुगेर सटही काउन्टरमा नै भारु साट्नुहोला ।” उहाँहरूले “लौ हुन्छ, त्यसै गर्नुपर्ला” भन्नुभयो । एक अर्कालाई राम्रोसँग जानुहोला भन्यौँ र छुट्टियौँ ।

त्यस बखतमा काठमान्डु जाने एक मात्र बाटो भनेको कोइलाबासबाट नेपाल बोर्डर पार गरेर भारतको जरवा या तुल्सीपुरबाट रेलमा गोरखपुर-गोन्डा भएर पटना हुँदै सुगौलीबाट रक्सौल हुँदै वीरगन्ज निस्केर मोटरमा त्रिभुवन राजपथबाट काठमान्डू पुगिन्थ्यो । ४ दिनको पैदल यात्रापछि कोईलाबास – २ दिनको भारतमा रेल यात्रा र वीरगन्जबाट काठमान्डु पुग्दा ८-९ दिन कम्तिमा लाग्थ्यो ।

श्री खडानन्द पहिलो पटक १९९४ सालमा पहिलो पटक काठमान्डू जानु भएको रहेछ । जादाँ भीमफेदीबाट पैदल सिन्धुलीगढीको बाटो हुँदै बनेपा काठमान्डु पुग्दा आफ्नो घर गजुलबाट ठ्याक्कै १८ दिन लागेको कुरा बताउनु हुन्थ्यो । पछि उहाँ एमपी भएका बखत पनि संसद अधिवेशनमा जाँदा फर्कदाँ एकतर्फी यात्रामै १० दिन जति त यात्रामै लाग्दथ्यो ।

बिहानै हिडेँर राप्ती नदीको तीरमा पुग्दा डुङ्गावाला आइसकेका रहेछन् – डुङ्गा गढवा तर्फकै किनारमा रहेछ – एकै छिनमा नदी पार गरेर पल्लो किनारामा पुगिहाल्यौँ ।

त्यहाँबाट हिँड्यौ- लमही पुग्यौ, तर त्यहाँ बस्नतिर लागेनौ । अर्जुन खोला पुगियो,  खोला उता जाँदाको जस्तो ठूलो थिएन । सुरुवाल जुत्ता खोलेँ – मेरो झोला मैले नै बोकेको थिएँ । भरिया तलतिर र म माथितिर भएर खोलामा पस्यौं । भारीको नाम्लो पनि छोटो बनाउन लगाएको थिएँ, पानीले किताबको भारी भेट्न पाएन- खोला पार गर्‍यौँ । र, बेलदम्हार पुगेर होटलमा खाना खायौं ।

आधा घण्टा जति आराम गरेर त्यहाँबाट अगाडि बढ्यौ – मसोट खोला त्यति ठूलो थिएन, सजिलै तर्‍यौँ र चौपट्टा डाँडोको उकालो लाग्यौं, सुस्त सुस्त- भरियाको तालमा । आज घोराहीमै बास बस्ने भएकोले- त्यति हतार थिएन । अपरान्ह दुई बजेतिर डाँडामा पुग्यौँ ।  त्यहाँ एकछिन बिसाएर फेरि बाटो लाग्यौ । घोराही बजार पुग्दा ४ बजेको थियो ।

चिनारू गङ्गाराम बनिया को पसलमा किताबको भारी राख्न लगाएँ र भरियालाई ज्याला दिइ बिदा गरेँ । अब फेरि लिबाङ्ग सम्मको लागि अर्को भरिया खोजी गर्दा एक जना त भेटिए, तर ज्यालामा बढी नै माथापच्ची गर्नुपर्‍यो । बल्लतल्ल २०० रुपैयाँमा मन्जुर भए ।

भोलिपल्ट बिहान गङ्गारामको पसलमा पुग्दा भरिया पनि आइसकेका रहेछन्, काम गर्ने मानिसलाई बोलाएर भारी निकाल्न लगायौ, यसै बीचमा बनियाँ पनि आए ।

उनलाई धन्यवाद दिइ बिदा भएर त्यहाँबाट बाटो लाग्यौ । घोराही बजार हुँदै पानीजरुवाबाट केही अगाडि गएपछि खोला तरेर बगाले पुग्यौं । त्यहाँ खोलामा स्नान आदि कार्य गरि होटलमा चिया समोसा खायौं, जम्मा १ रुपैया ५० पैसा तिरेँ ।

त्यहाँबाट सेवार खोलै खोला हिड्यौँ- अरु बाटो नै थिएन । पानी नपरेको हुँदा खोला बढेको रहेनछ, अलि सजिलो भयो । दुईखोली पुगेपछि खोला तरेर दाँया तर्फको राम्चे डाँडातर्फ लाग्ने बाटो समातेर चौकीफेदी पुग्यौं र त्यहाँबाट उकालो लाग्यौँ । सुस्त–सुस्त हिँड्दै १० बजेतिर राम्चे डाँडामा ऊक्लियौँ । त्यहाँबाट धौलाबाङ्ग पुगेर चिनजानका स्थानीय ओलीको घरमा खाना खायौं र फेरि बाटो लाग्यौं ।

तेर्सो बाटो अनि फेरि उकालो चढेर  उघाँ डाँडा पुगियो र त्यहाँबाट बिस्तारै बिस्तारै ओह्रालो बाटो झरेर लिबाङीआँप पुगेपछि मात्र भरियाले भारी बिसाए । आज रातिको बास बस्न कोछाप पुग्न नसकिने नै यकिन भयो- घुर्मैलो साँझले खोला खोल्साको बाटो छोपिसकेको थियो । धेरै बेर नसुस्ताएर त्यहाँबाट हिँडी नै हाल्यौँ र लापखोला पुगेर चिनेजानेका विश्वराम डाँगीको घरमा बास बस्यौँ ।

भोलिपल्ट बिहान ५ बजे नै हिड्यौँ र जङ्गलै जङ्गलको तेर्सो बाटो – कोछाप पुग्यौँ । पालुथानमा ध्वजा चढाएँ – लामो पैदल यात्रा मार्गमा पर्ने थान, देउरालीमा ध्वजा ढुङगा चढाउँदा प्रकृति र दैवी सत्ताप्रति मर्यादा हुन्थ्यो र एक प्रकारको कृतज्ञता भाव राख्ने रिबाज पनि रहन्थ्यो ।

त्यहाँबाट ठाडो ओह्रालो झरी बाजाबाङ्गमा मेरो हजुरबाको स्मृतिमा श्री खडानन्दजीको उत्प्रेरणामा मेरो बुबाले खर्च बेहोरी माडी खोलामा बनाउन लगाएको काठे साँघु तरेर उवाखोलाको छाप्रे होटलमा पुगेपछि भरियालाई भारी बिसाउन लगाएँ । र, माडीखोलामा गएर स्नान- जप गरें । होटलमा चिया रोटी खायौँ र ४ घन्टा लाग्ने उकालो लाग्यौ ।

सालका रुख भएको जङ्गलै जङ्गल- डाँडैडाँडा उकालो हिँडिसकेपछि आइपुग्ने सल्लिबोट गाउँमा मुखियाको घरमा खाना बनाएर खायौं । खानाको पैसा दिन खोज्दा उल्टै मुखिया रिसाएर चौपट्ट- व्यापारी सोचको जमाना थिएन- पाहुना खुवाउँदा इज्जत मर्यादा बढ्थ्यो ।

सल्लै सल्लाका रुखहरू भएको जङ्गलै जङ्गल उकालो हिँडी थोरै तेर्सो हिँडेपछि बाजबिसौना गाउँ आयो । त्यहाँबाट फेरि उकालो लागि आधा घण्टा जति हिँडेपछि  लिबाङको दक्षिणमा मसिना डाँडामा पुग्यौं । भञ्ज्याङ देउरालीलाई ढुङ्गा र पात चढाएँ अनि विश्राम गर्‍यौँ ।

त्यहाँबाट जङ्गलै जङ्गल ओह्रालो चिप्लो बाटो झर्दै कालीमाटी अनि फेरि तेर्सो हिँडेपछि धनबुडा पुगे पछि तल हेर्दा हाम्रो घर – लिबाङ बजार देखियो । लामो समयपछि आफ्नो घर देख्दा मनै प्रफुल्लित भयो । ओह्रालो झर्‍यौ- ठकुरीहरूको घर- अनी खत्रीहरूको घर- अनि अलि तल पधेँरी खोला पार गरेपछि आफ्नो घरमा आइपुगेँ ।

चेतन लहरीका छापिएका ५०० प्रति खाँदिएको धोक्रो हालेको डोको मेरो घरको पिँढीमा बिसाएर भरिया दाइले लामो सुस्केरा हाले – पानी मागे र ठाडो घाँटी लगाएर आम्खोराबाट घटघट पानी खाए ।

थकित ज्यानलाई पेटीमा बिसाएर मैले पनि टोपीले निथ्रुक्क निधारको पसिना पुछेँ ।

बुवाले “राम्रोसँग आई पुग्यौ ?” भनेर मात्र सोध्नु भयो । आमाले “कहाँ हो कहाँ बनारस- यो बर्षामासमा त्यति टाढा जाँदा पनि एउटा साथी पनि नलिएर जाने,” भनेर ममतामयी चित्त दुखाउनु भयो ।

यसरी २०२२-२३ सालको परिस्थितिमा पुस्तक छपाइको एउटा कठिन, रोमाञ्चक तथा अनौठो अध्याय पुरा गरियो ।

अन्त्यमा,

घरमै बसेर हप्ता दश दिनपछि गजुल जाँदा श्री खडानन्दजी पनि काठमाडौंबाट हिजो राति मात्र आई  पुग्नु भएको रहेछ।

काठमाडौंको खबर सोधपुछ गरेँ । “निकै दौडादौड भयो – काठमान्डुमा पनि ३ दिनमात्र बसियो – भवनको काम सुरु गर्नका लागि फुकुवा गराएर आयौँ- अब लिबाङ्ग गएर काम सुरु गर्न लगाउनुपर्ला” भन्नुभयो ।

उहाँको कठिन प्रयासले बनेको सदरमुकामको भवन आज पर्यन्त थलचिन्ह (ल्यान्ड मार्कको) रूपमा खडा छ । ईन्जिनियर-ओभरसियर केही नभएको जमानामा घन्टीखोले मिस्त्री गंगाराम घर्तीजस्ता स्थानीय शिल्पीको सहारामा उहाँले त्यो भवनको परिकल्पना गर्नु भएको थियो ।

अगाडि समारोह गर्ने खुला लङ- पूर्व मोहडाको भवनको बीच भागमा बल्कोनी सहितको सभा हल –निर्वाचित प्रतिनिधिहरूको अफिस कोठाहरू भएको दक्षिण तर्फको लङ- उत्तर लङमा कर्मचारीको अफिस कोठाहरू – उहाँको परिकल्पनालाई  उपयुक्त क्षमता -साधन र स्रोतको अभावको समयमा पनि गंगारामले गजबले आकारमा ढालिदिए ।

म आज पनि जब त्यो भवनमा पुग्छु – मेरो स्मृतिमा २०२३ सालको श्राबण मासमा निर्माण फुकुवा गराउन काठमान्डु जाँदै गरेका खडानन्दजी गढवामा भेटिनु हुँदा देउखुरिको गर्मीको रापले रातो भएको र पसिना चुहिँदै गरेको उहाँको प्रौढावस्थाको गाम्भीर्यता मिसिएको तेजिलो अनुहार झल्झल्ती अगाडि आउँछ ।

लिबाङबाट ३-४ वटा प्रति चेतनलहरी किताब लिएर गएको थिएँ, उहाँलाइ दिएँ । छाप्नु अगाडि प्रुफ चेक गर्ने बेला मेहनतले हेरेकै हुँ तर कुनै-कुनै ठाउँमा शब्द मात्राहरूमा त्रुटि भएको रहेछ । कम्पोजिटरहरूले उहाँका मिहिन र कलात्मक अक्षरहरू बुझ्न नसकेर पनि मिस्टेक भएको होला भन्ने लाग्यो ।

“ काम गर्दा त्रुटि हुनसक्छ – सुर्ता मान्नु पर्दैन – मैले छपाउनका लागि ८-१० वर्ष अगाडिदेखि नै सोचेको थिएँ तर हुन सकेको थिएन- यो किताबले पनि छापिनका लागि तपाईँलाई नै पर्खेको रहेछ । धेरै धेरै आभारी छु,” भन्दै असाध्यै खुशी व्यक्त गर्नु भयो ।

“अब यो भदौरे संक्रान्तिपछि म लिबाङ्ग जान्छु, तपाईँ  पनि स्कूलको बिदा अनुकूल मिलाएर आउनुहोला- अनि वितरण गरौंला, ”  भन्नुभयो । कसरी वितरण गर्ने भन्ने बारेमा पनि छलफल भयो ।

रोल्पा जिल्लाका सबै विद्यालयहरू, शिक्षकहरू, जिल्ला सभा सदस्यहरू, गाउँ पञ्चायतका प्रधानपञ्च र उपप्रधानपञ्चहरू, गाउँपञ्चायत कार्यालयहरू, जिल्ला सदरमुकामका सबै कार्यालयहरू, जिल्ला पञ्चायत रोल्पाका सबै कर्मचारीहरूलाई र अन्य गन्यमान्य र उत्सुक एवम् इच्छुक व्यक्तिहरूलाई वितरण गर्ने निधो गरियो ।

२०२३ साल भाद्र ७ गते शुक्रवार म मिझिङ्गबाट लिबाङ्ग आएँ र उहाँलाई भेटेर पुस्तक जिम्मा दिएँ । जिम्मा दिनु के थियो र पहिल्यै तय भए अनुसार वितरण गर्नका लागि फेरि आफै जिम्मा लिएँ र वितरण गर्न थालें ।

५५ बर्ष बितिसकेछ – अहिले फर्की हेर्दा त्यै किताब नै पो रहेछ – रोल्पा जिल्लाको छापिएको पहिलो किताब – पहिलो प्रकाशन- पहिलो साहित्य- पहिलो कविता संग्रह – जे भने पनि ।

 



प्रतिक्रिया दिनुहोस !