८ आश्विन २०८१, मंगलबार

क्रियाशील सदस्यताको नामावली तत्काल सार्वजनिक गर्न कांग्रेस जिल्ला सभापतिहरूको माग

‘निर्धारण गरेका मापदण्डहरू केवल देखाउने दाँत’
प्रकाशित मिति :  8 August, 2021 7:14 am


काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता नामावली तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले भनेका छन्,“हामी सम्पूर्ण जिल्ला सभापतिहरू केन्द्रीय सफ्टवेयर प्रणाली भित्र ईन्ट्री गरिएका क्रियाशील सदस्यता नामावली तत्काल सार्वजनिक गर्न र सो सूची अध्ययन गरी यथोचित राय प्रस्तुतिका लागि संक्षिप्त मौका प्रदान गर्नहुन हार्दिक अनुरोध गर्दछौं ।”

नामावली हेर्न तथा गंभीर त्रुटी सच्याउने न्यूनतम अवसर समेत नदिई जबर्जस्ति अघि बढ्न खोजिएमा यसले गम्भीर समस्या निम्त्याउने भन्दै जिल्ला सभापतिहरूले चेतावनी समेत दिएका छन् ।

क्रियाशील सदस्यता छानवीन सम्बन्धमा केन्द्रीय समितिले निर्धारण गरेका मापदण्डहरू केवल ‘देखाउने दाँत’ भएको जिल्ला सभापतिहरूको टिप्पणी छ ।

केन्द्रीय क्रियाशील सदस्यता छानवीन समिति स्वयंले माग गरेअनुसार प्राप्त गुनासा वा उजुरीहरूको समेत संवोधन नभएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ,‘अन्य पार्टीबाट समायोजन भएकाहरूको नाममा अन्धाधुन्ध क्रियाशील सदस्यता फाराम पठाउने र खास जिल्ला, क्षेत्र, पालिका वा वडामा खासखास व्यक्तिलाई लाभ वा हानी गराउने किसिमको योजनावध्द खेल अहिलेपनि जारी छ ।”

शतप्रतिशतभन्दा बढी थपिएका नामहरू अझै नहटाइएको र एकातिर वडा भेलाको निर्णयसहित वडा कार्यसमितिबाट सिफारिश भएका नामहरू अझै ईन्ट्री समेत नगरिएको तथा वडा तहबाट सिफारिश नभएका नामसमेत थपिएका नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले जानकारी दिए ।

उनले भने,“धर्ना, अनसनका जायज मागहरूमाथि सुनुवाई भएको छैन, छानवीन समिति स्वयं कन्भिन्स्ड भई तोक लगाएका नामावली समेत ईन्ट्री भएका छैनन त्यस लगायतका विषयमा हाम्रो आपत्ती हो ।

जिल्ला सभापतिहरूले मापदण्डमाथि व्यक्ति–व्यक्तिको नियत हाबी भएको र केन्द्रीय क्रियाशील सदस्यता छानवीन समितिले प्रतिवेदन पेश गर्नुपूर्व सम्पूर्ण सदस्यता सूची सार्वजनिक नगरेबाट पनि यसले गरेका कामकार्वाही माथि नै छानवीन गर्नुपर्ने गम्भीर आशंका उत्पन्न भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,“पार्टी भित्रका सबै सदस्यहरुलाई महाधिवेशनबारे आश्वस्त पार्ने, न्याय दिने सबैभन्दा ठूलो जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वका हिसावले पार्टी सभापति कै हो ।”

जिल्ला सभापतिहरूले मुलुकको संविधान र आफ्नो विधानको परिधीभित्र रहेर १४ औं महाधिवेशनका सन्दर्भमा अब कत्तिपनि ढिला नगरी उपयुक्त निकास निकाल्न जरुरी रहेको उल्लेख गर्दै संयुक्त विज्ञप्तिमा भनेका छन्,“यसका लागि नेताहरु बिच पारस्परिक सम्मान, खुला संवाद र हार्दिकतासहितको अभूतपूर्व एकता अहिलेको अनिवार्य आवश्यकता रहेकोतर्फ नेतृत्ववर्गको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं ।”



प्रतिक्रिया दिनुहोस !