६ माघ २०८१, आइतबार

उद्योग व्यवसाय क्षेत्रमा मेलमिलापका लागि महासंघले भूमिका विस्तार गर्ने

प्रकाशित मिति :  8 August, 2021 1:22 pm


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसाय क्षेत्रमा मेलमिलापका लागि आफ्नो भूमिका विस्तार गर्ने भएको छ ।

महासंघले सदस्य सेवा केन्द्रको स्थापनासंगै मेलमिलाप केन्द्रको सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष शेखर गोल्छाले बताए ।

महासंघ र मेलमिलाप परिषद्ले संयुक्त रुपमा चन्द्रागिरीमा आयोजना गरेको उद्योग व्यवसाय क्षेत्रमा मेलमिलाप पद्धति बिषयक अन्तरक्रियामा अध्यक्ष गोल्छाले भने,“मेलमिलाप केन्द्र केहि पहिला महासंघमा स्थापना भएको हो,अब यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनिरहेको छ ।”

कार्यक्रममा सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले उद्यमी व्यवसायीको लागत घटाउन मेलमिलाप पद्धतिको अवलम्वन र विस्तार आवश्यक रहेको वताए । उनले भने,“महासंघले यसको नेतृत्व गर्न सक्छ ।”

सर्वोच्च अदालतका रजिस्ट्रार नारायण प्रसाद पन्थीले मेलमिलाप केन्द्रको स्थापना र बिकासमा सहयोग पु¥याउने बताए ।

कानुन मन्त्रालयका सचिव उदय सापकोटाले मेलमिलाप सम्बन्धी विज्ञको अभाव रहेकोले यसको उत्पादनमा पनि निजी क्षेत्रले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले मुद्दामा धेरै समय लाग्ने गरेको सन्दर्भमा मेलमिलाप केन्द्रबाट समाधान खोज्न सकिने बताए । “धेरै समय र लागत लागिरहेको सन्दर्भमा महासंघको मेलमिलाप केन्द्रबाट सेवा दिन सक्छौ” उनले भने ।



प्रतिक्रिया दिनुहोस !