३ आश्विन २०८१, बिहिबार

एक मिसकल अनि बन्द ढोका खुला !

प्रकाशित मिति :  8 August, 2021 1:47 pm


काठमाडौं ।  एक मिसकल अनि मानिसले आफ्नो निजी जीवन जिउनका लागि थुनेको कोठा भित्रका गतिविधिहरूलाई सिनेमा चलेजस्तो गरी हेर्न पाउने प्रविधिका कारण  अहिले विश्वभर विशेष हङ्गामा खडा भएको छ ।

भारतमा यो प्रविधिप्रति प्रतिपक्षी दल र सरकारको आलोचना गर्ने समूहले चिन्ता चासो व्यक्त गरिरहेका छन् । तर सत्तारूढ भारतीय जनता पार्टी र तिनका समर्थकहरूले आफ्नो मुख टालेर यो प्रविधिको प्रयोग गर्ने सरकारको समर्थन गरिरहेका छन् ।

पेगासस परियोजनाले भारतका नेताहरू, पत्रकारहरू, अधिकारकर्मीहरूको फोनबाट उनीहरूको गतिविधिहरू हेर्न सकेको विश्वास गरिएको छ ।

भारतकी चर्चित अधिकारकर्मी अरुणधती रायले “ दिस इज नो अर्डिनरी स्पाइङ आर मोस्ट इन्टिमेट सेल्भ्ज आर नाउ एक्सपोस्ड” शीर्षकमा आलेख लेखेर यस्तो जानकाकारी साझा गरी जानकारी नदिइकन जासुसी गराउने सरकारबाट सत्ता कब्जा लिन आम जनतालाई आह्वान गरेकी छिन् ।

सरकारहरूले जासुसी गराउन लगाउने गरेको अभ्यास गर्दै आएको देखिन्छ । भारतमा पनि जासुसी गराउन पाउने अधिकारका लागि प्रावधानहरू छन् । तर ती प्रावधानहरूको उल्लंघन गरी पेगासस परियोजनाको जासुसीलाई परम्परागत जासुसीको रूपमा लिन नहुने अधिकारकर्मी राय लगायतकाहरूको मत छ ।

यसो हुनुमा यो सफ्टवेयर बनाउने इजरायली कम्पनी आफैले गरेको खुलासाबाट पनि अनुमान लगाउन सहज हुन्छ ।

कुनै विदेशी संस्थालाई जिम्मेवारी दिएर आफ्नै देशका नागरिकहरूको नितान्त निजी गतिविधिहरू समेतको निगरानी गर्न सक्ने जासुसी नेटवर्क बनाउने काम र त्यस्तो जासुसी सेवा लिने कामलाई के भन्ने ?

कुनै पनि देशको नागरिकलाई सोधि हेर्दा के जवाफ पाइने छ होला अनुमान गरौं, “यो राजद्रोह वा देशविरूद्धको गद्दारी जस्तो केही हुनुपर्ने होला ।”

यसरी जासुसी गरिएका ५० हजार फोन नम्बरको एक सूची अनुसन्धानकर्ताहरूको तर्फबाट सार्वजनिक भएका छन् । यो जासुसी सफ्टवेयर बनाउने इजरायली कम्पनी एनएसओ हो । एनएसओका ग्राहकहरू मध्ये कोहीबाट चुहिएको सो सूचीमा परेकाहरूमा १ हजार बढी भारतको भएको देखिएको छ ।

पेगाससको स्पाइवेयरले सूचीमा परेकाहरूको फोनलाई संक्रमण गरेको हो वा होइन त्यसको परीक्षण त्यसको फरेन्सिक प्रयोगशाला परीक्षणबाट मात्र पुष्टि हुने हो ।

भारतका अधिकारकर्मीहरू,बौद्धिकहरू, व्यापारीहरू,भारतको निर्वाचन आयोगका कुनै अधिकारी, गुप्तचर निकायका कुनै बरिष्ठ अधिकारी ,क्याबिनेटका मन्त्री तथा तिनका परिवार,विदेशी कुटनीतिज्ञका साथै पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नाम समावेश छन् । भारतस्थित नेपाली राजदूतावासका राजदूतको नम्बर यो पेगासस स्पाइवेयरको लक्षित सूचीमा समावेश गरेको पाइएको छ ।

परम्परागतरूपमा जासुसी गराउन मान्छे खटाइन्थ्यो । मान्छेको पहुँच कम्तीमा सम्बिन्धा व्यक्तिको ‘बेडरुम’मा बिरलै हुन्थ्यो । तर यो स्पाइवेयर एक मिस कलबाट व्यक्तिको मिटिङ हल, डानिङ हल र लिभिङ रुमसम्म पुग्ने भएरै अधिकारकर्मी रायले यस्तो शीर्षक दिएर चिन्ता चासो र आक्रोश पोखेको देखिन्छ ।

एनएसओले आफ्नो स्पाइवेयर सरकारलाई मात्र बेच्ने गरेको खुलाएको छ । यसबाट भारत सरकारले नै यो स्पाइवेयरको प्रयोग गरेको हो भनी राय जस्ताको आक्रोश बढेको देखिन्छ ।

भारतको सन्दर्भमा यो स्पाइवेयर बनाउने कम्पनी एनएसओ र भारत सरकार बिचको सम्बन्ध सन् २०१७मा इजरायलबाट सुरु भएको बेला हाल गोदी मिडियाको नामले परिचित भारतीय मिडियाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु मिलनका समाचार जनता अगाडि पस्किरहेका थिए ।

गोदी मिडियाले मोदी र नेतान्याहु दुवैले समुद्रको किनारमा सुरुवाल झिकेर रमाइरहेको तस्विर देखाउँदै दुई देशका नेताहरू बिचको हार्दिकताका प्रसङ्गमा समाचार सामग्री दर्शाइरहेको कुरो रोयले दर्शाएकी छिन् ।

मोदी र नेतान्याहुले डोर बिचको बालुवामा आफ्ना पदचिन्ह बनाइरहेकै बेला भारतका फोन नम्बर त्यो सूचीमा सामेल हुन सुरु भएको   देखिन्छ ।

सोही वर्ष दश गुना बढेर आएको भारतको राष्ट्रिय सुरक्षा बजेटको अधिकांश भाग साइबर सुरक्षामा विनियोजन गरी वृद्धि गरिएको पाइन्छ । त्यसपछि अगस्ट २०१९मा मोदी फेरि दोस्रो कार्यकालका लागि प्रधानमनत्रीमा जितेर आए ।

पेगासस परियोजनाबारे भएका खुलासाहरूले यो स्पाइवेयरको सम्भावित खतरा विगतमा भएका जासुसी वा निगरानी गरे भन्दा बढी आक्रमणकारी हुने प्रस्टिन्छ ।

गुगल, अमेजन र फेसबुकका अल्गोरिदम भन्दा धेरै आक्रमक यो स्पाइवेयर छ ।

यो स्पाइवेयरले लक्ष्य बनाएको फोन नम्बर बोक्ने व्यक्ति मात्रै यसको सिकार हुने होइन त्यो व्यक्तिका समग्र परिवार, मित्र तथा पहिचानमा सामेल सबै व्यक्ति हुनेछन् । परिणामतः लाखौं मानिसहरूले जिउने जीवन र जीवन सञ्चालनका समग्र तानाबाना यो स्पाइवेयरको घेराभित्र हुन्छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा नियोगका पूर्व विश्लेषक एडवार्ड स्नोडनले गार्डियनसँगको एक अन्तर्वार्तामा भने अनुसार टेक्नोलोजीको बिक्रीलाई रोक्न केही गरिँदैन भने यो मात्र ५०हजारलाई तारो बनाइरहने छैन । यो हामीले अपेक्षा गरे भन्दा बढी मानिसहरूलाई तारो बनाउँदै    लैजानेछ ।

अन्ततः एक मिसकलबाट आफूले थुनेको बन्द कोठाका गतिविधिहरूलाई टाढा बसेकाहरूको आँखामा पर्न नदिन स्मार्टफोन वा स्माार्ट डिभाइसबाट टाढा बस्नुपर्ने अवस्थामा मानिसहरूलाई पु¥याउँने छ । कि त यस्ता गतिविधि गर्ने सरकारमाथि मानिसले कब्जा जमाउनुपर्छ । नभए एक मिसकल अनि बन्द ढोका भित्रका अन्तरङ गतिविधि खुला हुन दिने यो विवशतालाई स्वीकार गर्नुपर्छ ।

 



प्रतिक्रिया दिनुहोस !