यी हुन् गठबन्धन सरकारका ११ बुँदे प्राथमिकता
काठमाडौं । गठबन्धन सरकारले कोभिड–१९ को महामारीमा नागरिकको जीवन रक्षा गर्नेलाई पहिलो प्राथमिकतामा राखेको छ ।
सिंहदरबारमा आज सार्वजनिक गरिएको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’मा राखिएका ११ बुँदे प्राथमिकतामा कोरोना महामारीमा नागरिकको जीवन रक्षालाई पहिलो बुँदामा राखिएको छ ।
त्यस्तै संविधानको सर्वोच्चता,कानुनी राज्य र सुशासनको प्रत्याभूति दिने, शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभर तथा विभिन्न पक्षहरुसँग भएका सहमतिहरुको कार्यान्वयन गर्ने प्राथमिकतामा राखिएको छ ।
राजनीतिक दलहरुको सहमतिमा संविधान संसोधनका लागि पहल गर्ने,संघीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारहरुको सवलीकरणका लागि आवश्यक कानुन तर्जुमा गर्ने र संसदमा विचाराधीन विधेयकहरु टुंगो लगाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।
सामाजिक आर्थिक रुपान्तरणको आधार निर्माण गर्दै उच्च र समन्यायिक आर्थिक विकासमा जोड दिने,उत्पादनमुखी अर्थतन्त्रमा जोड,आपूर्ति व्यवस्थामा सुधार,महङ्गी नियन्त्रण तथा भ्रष्टाचारको छानविनमा कारबाहीका लागि अग्रसरता लिने भनिएको छ ।
कोभिड १९ का कारण संकटग्रस्त उद्योग,पर्यटन व्यवसाय,सञ्चार, यातायात,पार्टी प्यालेस, व्यायामशाला,सिनेमा, तथा मनोरञ्जन उद्योग लगायतका क्षेत्रहरुको उत्थान तथा कोभिड १९ बाट प्रभावित श्रमजीवि,विपन्न,बेरोजगार आदिको राहतका लािग विशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने पनि सरकारको प्रथामिकतामा परेको छ ।
बाढी,पहिरो,आगलागी तथा डुवान लगायतका बिपत्ति परेका जनताको उद्धार,राहत तथा पुनस्र्थापना गर्ने, राष्ट्रिय हितको रक्षा गर्न एवं जनताको समृद्धिका लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अबलम्बन गर्ने भनिएको छ भने आपसी संवाद,सहमति र सहकार्यको संस्कृतिको विकास गर्दै राष्ट्रिय एकता सुदृढ गर्ने भनिएको छ ।