रोल्पा अस्पताल र नगरपालिकाबीच विवाद,आइसोलेसनको ड्युटीबाटै अनमी फिर्ता लगेको आरोप
काठमाडौं । रोल्पा नगरपालिकाले अनमी फिर्ता बोलाएपछि रोल्पा अस्पतालले असन्तुष्टि जनाएको छ ।
असार मसान्तपछि आफू मातहतका अनमी फिर्ता बोलाउँदा आइसोलेसन, आकस्मिक सेवा, फार्मेसी सेवा सञ्चालन गर्न कर्मचारी अभाव भएको अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले जनाएका छन् ।
रोल्पा नगरपालिकाले असारको अन्त्यमा रोल्पा अस्पतालमा कार्यरत आफ्ना ३ जना अनमीलाई फिर्ता बोलाएको थियो । उनीहरू स्थानीय सरकार बन्नुपहिले नै अस्पतालमा काजमा काम गर्दै आएका थिए ।
अहिले कोरोनाको महामारीमा अस्पताललाई प्रोत्साहन गर्नुको सट्टा आइसोलेसन कै ड्युटीबाट नगरपालिकाले अनमी फिर्ता बोलाएपछि अस्पतालमा स्वास्थ्यकर्मी अभाव हुन पुगेको सूचना अधिकारी डाँगीको गुनासो छ ।
डाँगीले समाजिक सञ्जाल फेसबुकमै भनेका छन्,“आशा छ स्वास्थ्य सेवा सबैको साझा भएकोले झिनामसिना इगो वा असन्तुष्टिलाई छोडेर नगरपालिकाले अस्पताललाई व्यवस्थित बनाउन सहयोगको योजना बनाउनु पर्छ ।”
यद्यपी नगरले दिनुपर्छ पर्ने बाध्यकारी नभएपनि दिनलाई नमिल्ने पनि छैन भन्दै विभिन्न उदारण दिएका छन् । मनाङमा आएर काम गर्ने एमबीए डाक्टरलाई नगरपालिकाले १ लाख थप भत्ता दिने, लामही नगरपालिकाले अस्पतालका लागि ७ करोड रुपैयाँ विनियोजन गरेको, बुटवल उपमहानगरपालिका,तिलोत्तमा र सैनामैना नगरपालिकाले अक्सिजन व्यवस्थापनका लागि ‘लुम्बिनी प्रादेशिक अस्पताल’लाई कोरोना दोस्रो लहरमा ३ करोड रुपैँया र अहिले अक्सिजन प्लान्टको लागि ५ करोड रुपैयाँ रकम बिनियोजन गरेको पनि रोल्पा नगरपालिकालाई स्मरण गराएका छन् ।
उनले भनेका छन्,“रोल्पाको नगरपालिकाले यस्तो योजना ल्याउन चाहेको भए ४ बर्ष पहिला नै रोल्पामा एमबीबीएस डाक्टर आउने वातावरण बन्थ्यो, लाखौं खर्च गरेर एपेन्डिसाइटिस–हर्नियाको अप्रेसन गर्न रोल्पाली जनता जिल्ला बाहिर जानुपरेको छ ।”
प्रवक्ता डाँगीले नगरपालिकाको आफ्नै स्वास्थ्य सेवा नीति के छ? त्यसलाई अझै राम्रो बनाउन के गर्न सकिन्छ ? अस्पतालसंग संयुक्तरुपमा काम गर्न सकिने हुन्छ हुदैन ? भनेर नगरपालिकालाई प्रश्न गरेका छन् । सहकार्य गरि अगाडि जान सके बिपन्नको लागि स्वास्थ्य सेवा सर्बसुलभ बनाउन सकिने भन्दै सुकिलामुकिला त बिदेश पुगेर पनि उपचार गर्ने औकात हुन्छ भन्दै आक्रोश पोखेका छन् ।
सहयोग गर्ने नगरप्रमुख केसीको प्रतिबद्धता, डाँगी भन्छन् : छिनोफानो होस्
नगरपालिकाका प्रमुख पूर्ण केसीले भने अस्पताललाई सहयोग गर्ने प्रष्ट पारेका छन् । प्रशासनिक समस्या भएका कारण मात्रै फिर्ता बोलाइएको भन्दै आवश्यक परे अनुदान दिने वा स्वास्थ्यकर्मी नै दिने केसीको भनाई छ ।
लुम्बिनी सञ्चारसँग उनले भने,“धेरै समय पनि भयो र प्रशासनिक विषय मिलाउनुपर्ने भएकाले फिर्ता लिइएको हो,अहिले दरवन्दी अनुसार स्वास्थ्यकर्मीपनि छन्, तर आवश्यक परे अनुदानपनि दिन्छौं वा स्वास्थ्यकर्मी दिन्छौं ।”
उनले अस्पताललाई असहयोग नगरेको स्पष्ट पनि पारेका छन् । १३,१४ लाख रुपैयाँको जेनेरेटर उपलब्ध गराएको र यसअघि डाक्टरलाईपनि अनुदान दिने गरेको तथा अन्य भौतिक पूर्वाधार बनाएको मेयर केसीले बताए ।
सूचना अधिकारी डाँगीले भने नगरपालिकाले अन्योलमा राख्न खोजेको बताए । उनले भने,“अनमी फिर्ता लगेपछि हामी झण्डै एक महिना चुप लागेकै हो तर झुलाउन खोजेपछि छिनोफानो गर्न सार्वजनिक रुपमा बोलेका हौं, नयाँ मान्छे दिएपनि हुन्छ, रकम दिएपछि हुन्छ तर किन अलमलाएको ?”
अहिले १८ जना दरवन्दीमा १ जना करार नथपेपछि फर्किएको,२ जना सुत्केरी विदामा बसेको र २ जना अध्ययन विदामा रहेकाले रोल्पा अस्पतालमा समस्या परेको डाँगीको भनाई छ ।
उनले भने,“दरवन्दी अनुसार स्वास्थ्यकर्मी छन् तर रोल्पा अस्पतालले अतिरिक्त सेवा दिएको छ भन्ने जानकारीपनि नगरप्रमुखलाई होला नि !, कोरोना संक्रमण यथावत छ, आइसोलेसनमा काम गरिरहेका दक्ष जनशक्ति फिर्ता लैजाने अनि अहिले अलमल गरिदिने ?”
समस्या भएपछि अस्पताल प्रमुख डा.सबु काफ्लेसँगपनि छलफल भएको नगरप्रमुख केसीले जानकारी दिए । केसीले अस्पतालको आग्रहमा आफू नकारात्मक नभएको बताए ।