८ आश्विन २०८१, मंगलबार

क्यान्टोनमेनको भ्रष्टाचारको छानविन पक्कै हुने भयो : अध्यक्ष ओली

प्रकाशित मिति :  10 August, 2021 3:15 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानविन हुने आशा व्यक्त गरेका छन् ।

वर्तमान सरकारले भ्रष्टाचारको छानविन गर्ने र कारबाही अगाडि बढाउने उल्लेख गरेको भन्दै व्याङ्ग्यात्मक शैलीमा ओलीले भने,“भ्रष्टाचारविरुद्धको कारबाही गर्ने भनिएको छ खुशी लाग्यो, यो राम्रो कुरा हो । अब सच्चै हुन्छ कि त ? भ्रष्टाचारका थुप्रै कुरा उठिराखेका छन् । क्यान्टोनमेनकै कुरा पनि उठेकै थियो । यसपल्ट पक्कैपनि यत्रो गठबन्धनको सरकाले यसकुराको छिनोफानो गरेर नेपाली जनतालाई जवाफ दिने छ ।”

उनले थप भने,“ललिता निवास पनि छानविन गर्छ होला, मातातिर्थको पनि गर्छ होला । यो कुनै राजनीतिक प्रतिसोधका लागि बोल्न वा धम्क्याउन खोजिएको होइन होला ।”

ललिता निवास प्रकरणमा सत्ता गठबन्धनका एमालेकै नेता माधव कुमार नेपाल, मातातिर्थको जग्गा प्रकरणमा डा.बाबुराम भट्टराई जोडिएका छन् भने तत्कालिन माओवादी लडाकु व्यवस्थापनमा घोटाला भएको भन्दै माओवादी नेतृत्व विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आरोप दर्ता भएको छ ।

उनले द्वन्द्व पीडितलाई सम्मान गर्ने भनेर साझा न्यूनतम कार्यक्रममा समावेश गरेकोप्रति व्यङ्ग गरे । उनले द्वन्द्व पीडितलाई न्याय दिनु मुख्य कुरा भएको उल्लेख गरे ।

उनले भने,“ तपाईले बुट्टे खादा ओढाइदिएर अलमल्याउन खोजेको द्धन्द्ध पीडितलाई । घाइतेहरूको उपचार गराउछु भन्नुस् । शरीरमा गोली भएकाहरुको गोली निकाल्छु भन्नुस् न । यदि सरकार सक्तैन भने शरीरमा गोली भएकाहरूलाई नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा छ अहिले त्यहाँ पठाइदिनुस् म गर्छु ।”



प्रतिक्रिया दिनुहोस !