८ आश्विन २०८१, मंगलबार

लुम्बिनीमा विशेष अधिवेशन आज,मुख्यमन्त्री पोखरेल विरुद्वको विश्वासको प्रस्तावमा छलफल हुने

प्रकाशित मिति :  11 August, 2021 7:15 am


फोटो : लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको साइटबाट

रुपन्देही । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष बस्न लागेको हो ।

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

हाल लुम्बिनीमा कायम प्रदेश सभा सदस्यको संख्या ८० छ । मुख्यमन्त्री पोखरेललाई आफ्नो पद जोगाउन ४१ मतको आवश्यक पर्ने छ । सत्तारुढ दल एमालेका ३८ सांसद् छन् ।

विपक्षी गठबन्धन तर्फ नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद् छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत नै आवश्यक पर्छ र जुन विपक्षी गठबन्धनसँग देखिएको छ ।

विपक्षी गठबन्धनले आफ्ना सांसदलाई रिसोर्टमा राखेको छ ।

यसअघि विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते पनि अविश्वासको प्रस्ताव दर्ता गरेपनि मुख्यमन्त्री शंकर पोखरेलले चलाखीपूर्ण तरिकाले छलेका थिए ।

वैशाख ६ गते दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएका थिए । राजीनामा दिएलगत्तै एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सोही दिन विपक्षी गठबन्धनले नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदहरुको हस्ताक्षर सहित दाबी पेश गरे पनि प्रदेश प्रमुखले पोखरेललाई नै नियु्क्त गरेका थिए ।

वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भयो । तर तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान गरेनन् जसका कारण पोखरेल जोगिएका थिए ।

पोखरेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्च अदालतमा रिट दायर भएको छ ।



प्रतिक्रिया दिनुहोस !