८ आश्विन २०८१, मंगलबार

लुम्बिनी प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै

प्रकाशित मिति :  12 August, 2021 7:22 am


रुपन्देही । लुम्बिनी प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् ।

प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मको समय तोकेका छन् । ३ बजेसम्म बहुमत पुराएर मुख्यमन्त्री दाबी गर्ने प्रदेश सभा सदस्यलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रदेश प्रमुख कार्यालयको तयारी छ ।

विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा अविश्वासको प्रस्ताव सामना गर्नुअघि नै हिजै राजीनामा दिएका थिए ।

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्तका लागि दाबी पेश गर्न आज दिउँसो ३ बजेसम्मको समय तोकेका हुन् ।

अहिलेसम्म हेर्दा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनले सरकार बनाउने देखिएको छ । गठबन्धनले माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।

हाल लुम्बिनीमा कायम प्रदेश सभा सदस्यको संख्या ८० छ । मुख्यमन्त्री दाबी गर्न ४१ प्रदेश सभा सदस्यको मत आवश्यक पर्छ ।

एमालेका ३८ सांसद् छन् भने गठबन्धन तर्फ नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद् छन् । त्यसैले मुख्यमन्त्रीमा केसी नियुक्त हुने छन् । गठबन्धनले सरकारमा दाबी गर्दैछ ।



प्रतिक्रिया दिनुहोस !