८ आश्विन २०८१, मंगलबार

लुम्बिनीमा सरकार गठनका लागि गठबन्धनको दाबी पेश, मुख्यमन्त्रीमा के.सी. प्रस्ताव

प्रकाशित मिति :  12 August, 2021 11:15 am


फाइल फोटो

रुपन्देही । चार दलीय गठबन्धनले लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई ४२ सदस्यको हस्ताक्षर बुझाएको छ ।

माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) लाई मुख्यमन्त्री बनाउन भन्दै गठबन्धनले हस्ताक्षर बुझाएको हो । ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका छन् ।

प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मको समय तोकेका छन् । विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा अविश्वासको प्रस्ताव सामना गर्नुअघि नै हिजै राजीनामा दिएका थिए ।

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्तका लागि दाबी पेश गर्न आज दिउँसो ३ बजेसम्मको समय तोकेका हुन् ।

हाल लुम्बिनीमा कायम प्रदेश सभा सदस्यको संख्या ८० छ । मुख्यमन्त्री दाबी गर्न ४१ प्रदेश सभा सदस्यको मत आवश्यक पर्छ । गठबन्धनले ४२ सांसदको हस्ताक्षर बुझाएको छ ।



प्रतिक्रिया दिनुहोस !