काठमाडौं उपत्यका, तराईका ठूला शहर र विद्यार्थी तथा युवाहरू कोरोना खोपमा प्राथमिकता
काठमाडौं । सरकारले काठमाडौं उपत्यका, तराईका बढी जनघनत्व भएका शहर र विद्यार्थी तथा युवाहरूलाई खोपमा प्राथमिकता दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आजको प्रतिनिधि सभा बैठकमा कोरोना नियन्त्रण तथा रोकथामबारे जानकारी गराउँदै अब खोप केन्द्रपनि बढाइने जानकारी दिए ।
उनले भने,“सीमा क्षेत्र लगायत ठूला शहर जाहाँ आर्थिक क्रियाकलाप बढी हुन्छ त्यस्तो ठाउँमा खोप दिने तयारी भइरहेको छ, परीक्षा दिने विद्यार्थीलाई खोप दिने व्यवस्था भइसकेको छ ।”
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका लागि जानेहरूलाई छिटो छरितो ढंगले खोप उपलब्ध गराउने पहल भइरहेको जानकारी दिए । अब खोप लगाउने समय पनि बढाउने राज्यमन्त्री श्रेष्ठको भनाई छ ।
दैनिक बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म खोप लगाउने तयारी भएको पनि राज्यमन्त्री श्रेष्ठको भनाई छ ।
गाउँ र नगरमा खोप लगाउन स्यवंसेवक परिचालन गरिने र कोरोना लागेकालाई अक्सिजन निशुल्क उपलब्ध गराउने तयारी भइरहेको राज्यमन्त्री श्रेष्ठको भनाई छ ।