८ आश्विन २०८१, मंगलबार

लुम्बिनी प्रदेश सरकारमा सहभागि भएपछि मन्त्री शाहीलाई एमालेले सोध्यो स्पष्टिकरण

प्रकाशित मिति :  13 August, 2021 11:11 am


रुपन्देही । गठबन्धन सरकारको मन्त्री बनेपछि सूर्य चुनाव चिह्नबाट निर्वाचित प्रदेश सभा सदस्य अजय शाहीलाई नेकपा एमालेले स्पष्टीकरण सोधेको छ ।

प्रदेश सभा प्रमुख सचेतक भूमिश्वर ढकालले शाहीलाई हिजो स्पष्टिकरणमा पत्र काटेका हुन् । हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहमा रहेका शाही मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागि भएर विना विभागीय मन्त्री नियुक्त भएका थिए ।

शाहीलाई लेखिएको पत्रमा भनिएको छ,“ प्रदेश सरकार मुख्यमन्त्री माननीय शंकर पोखरेलको विरुद्धमा अविश्वास प्रस्ताव टेबुल गर्ने बैठकमा अनुपस्थित हुने दलको निर्णय र ह्वीप उल्घंन गरी बैठकमा किन भाग लिनुभयो ? सरकारको विरुद्धमा ल्याएको अविश्वासको पक्षमा किन हस्ताक्षर गर्नुभयो ? तपाईंका यस्ता गतिविधिले दल र पार्टीको शिर निउर्‍याउने काम भएको छ ।”

नेकपाले तीन दिनभित्र जवाफ पेश गर्न शाहीलाई भनेको छ । पत्रमा भनिएको छ,“ हाम्रो संसदीय दल विधानको परिच्छेद ५ को धारा २१ को उपधारा क,ख, छ र ङ बामोजिम तपाईलाई किन कारबाही नगर्ने ? यसको चित्त बुझ्दो जवाफ ३ दिनभित्र तपाई आफै दलको कार्यालयमा उपस्थित भै दिनुहोला अन्यथा कारबाही प्रक्रिया अगाडि बढाइने छ ।”

शाही २०७४ को मंसिरमा भएको निर्वाचनमा नवलपरासी पश्चिमको निर्वाचन क्षत्रे नं.१(२) बाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !