नेप्से ५ अंकले वृद्धि, कारोबार रकम १६ अर्बको हाराहारीमा
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार आज (नेप्सेमा) सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक ५.७२ अंकले बढेर ३ हजार १६०.५ अंकमा राकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.५६ अंकले बढेर ५९२।९३ अंकमा रोकिएको छ ।
आज १३ ओटा उपसमूहमध्ये ७ ओटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी रहेका ६ ओटा उपसमूहको परिसूचक घटेको छ ।
कारोबार रकमको आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको आज ७४ करोड ९७ हजार ४५६ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयरमूल्य उच्च बृद्धि हुने कम्पनीहरुमा नेशनल हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था, रुरु जलविद्युत परियोजना र हिमालय उर्जा विकास कम्पनी रहेका छन् ।
आज कूल २२७ ओटा कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अब ९३ करोड ८ लाख ९७ हजार ९३८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।