८ आश्विन २०८१, मंगलबार

क्रान्तिकारी माओवादीको निष्कर्ष,‘देउवा सरकार पनि सङ्कटग्रस्त व्यवस्थाको असफल प्रतिनिधि’

प्रकाशित मिति :  17 August, 2021 12:36 pm


फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सङ्घीय जनगणतन्त्र र तदनुरुपको सरकारको नारालाई जनताका बीचमा सशक्त ढङ्गले प्रचार गर्ने निर्णय गरेको छ ।

साउन २८ देखि ३१ गतेसम्म बसेको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिले संघीय जनगणतन्त्र र सोही अनुसारको सरकालाई तिब्र बनाउने निर्णय गरको हो ।

बैठकले पहिचान सहितको सङ्घीयता र स्वायत्त शासनको मागलाई लत्याएर भूगोलका आधारमा सङ्घीय संरचना निर्माण भएको भन्दै असन्तुष्टि जनाएको छ ।

महासचिव मोहन बैद्य किरणले बैठकका निर्ण सार्वजनिक गर्न जारी गरेको विज्ञप्तिमा भनिएको छ,”वर्तमान प्रतिक्रियावादी व्यवस्थाले गरेको अन्यायपूर्ण निर्णयको विरोध गर्दै पार्टीले उक्त मागलाई पुनः सशक्त रुपमा उठाउने र नेपालमा पहिचान सहितको सङ्घीय संरचनाको स्वरुपबारे गहन अध्ययन गरी त्यसको खाका छिटै प्रस्तुत गर्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।”

क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएको तर आत्मगत परिस्थिति भने कमजोर रहेको त्राmन्तिकारी माओवादीको ठहर छ ।

छिरलिएका सच्चा क्रान्तिकारी शक्तिलाई एकताबद्ध तुल्याउनका लागि पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवाद वा विचारधारा मान्ने र नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद अङ्गीकार गर्ने क्रान्तिकारी कम्युनिस्ट सङ्गठन, समूह एवम् व्यक्तित्वहरुलाई संवादको प्रक्रियामा अगाडि बढ्न बैठकले आह्वान गरेको छ ।

क्रान्तिकारी माओवादीको प्रतिवेदनमा महङ्गी, चरम बेरोजगारी, अभाव तथा गरिबी, भ्रष्टाचार, कमिशनतन्त्र, देशी तथा विदेशी प्रतिक्रियावादीको शोषण, उत्पीडन तथा हस्तक्षेप आदिका कारण मजदुर, किसान तथा निम्न पुँजीपति वर्गसहित आम जनताका आजीविकाका समस्या अत्यन्तै भयावह र विकराल बन्दै गएको भनिएको छ ।

साथै शेरबहादुर देउवा पनि यही सङ्कटग्रस्त व्यवस्थाको असफल प्रतिनिधि हुनाले वर्तमान गठबन्धन सरकारबाट पनि राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या हल हुन नसक्ने कुराको ठोकुवा गरिएको छ ।

केन्द्रीय समितिको बैठकमा भारतद्वारा कब्जा गरिएको लिम्पियाधुरा सहितको सम्पूर्ण भूभाग फिर्ता, एमसीसीको विरोध, दार्चुला तुइन काण्डको विरोध लगायतका राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयलाई लिएर सङ्घर्षको विकास गर्न जोड दिइएको विज्ञप्तिमा उल्लेख छ । साथै संयुक्त मोर्चा तथा कार्यगत एकतालाई प्रभावकारी ढङ्गले अगाडि बढाउने कुरा प्रतिवेदनले औल्याइएको छ ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !