८ आश्विन २०८१, मंगलबार

लुम्बिनी प्रदेशका दुई सांसदलाई पदमुक्त गर्न नेकपा एमालेको पत्राचार

प्रकाशित मिति :  17 August, 2021 1:10 pm


रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई सांसदलाई पदमुक्त गर्न पत्राचार गरेको छ ।

माओवादी केन्द्रलाई समर्थन गरेको भन्दै प्रदेश सांसद अजय शाही र सांसद विमला खत्री ओलीलाई पद मुक्त गर्न एमालेले प्रदेश सभा सचिवालयलाई पत्राचार गरेका हुन् । शाही विना विभागीय मन्त्रीको रुपमा प्रदेश मन्त्रिपरिषद्मा समेत सहभागि भएका छन् ।

प्रदेशसभामा एमालेका मुख्यसचेत भुमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्तका लागि सिफारिस गरिएको जानकारी गराएका छन् ।

अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनले आफू स्वतन्त्र भएकाले कारबाही गर्न नसक्ने बताउँदै आएका छन् ।

विमला खत्री ओली एमाले नेता उत्तर कुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन्। सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँतिएपछि ओलीले माओवादी केन्द्र रोजेकी थिइन् ।

शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन्। ओली भने कहिले एमाले, कहिले नेकपा माओवादी भएको भन्दै विवादास्पद बन्दै आएकी छन्।

पछिल्लो समय उनले आफूले माओवादी केन्द्र रोजेको भन्दै सोही दलका गतिविधिमा सहभागी हुँदै आएकी छन्।



प्रतिक्रिया दिनुहोस !