८ आश्विन २०८१, मंगलबार

तीन नेताकाे बैठकमा समाजवादी (लोकतान्त्रिक) लाई सरकारमा ल्याउने विषयमा छलफल, मन्त्रिपरिषद् बैठक बाेलाइयाे

प्रकाशित मिति :  19 August, 2021 1:48 pm


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र प्रस्तावित नेकपा एमाले (समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् ।

जनता समाजवादी(लोकतान्त्रिक) पार्टीलाई सरकारमा ल्याउनेलगायत समसामयिक राजनीति विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
तीनै दलका नेताहरू बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल पछि बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

ठाकुर निकट एक नेताले पार्टीमा जाने निर्णय गर्न बाँकी रहे पनि सरकारमा जानेबारे पार्टी खुला रहेकाे बताए ।

मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको भोलि पल्ट तीन नेता बीच छलफल भएको हो ।
अध्यादेश जारी भएपछि बुधबारै माधवकुमार नेपालको अध्यक्षतामा नयाँ दल नेकपा एमाले समाजवादी आयोगमा दर्ता गराइएको छ । त्यसैगरी अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक ) गठन गरियो ।

यी दुई पार्टी गठन भएको एक दिन पछि देउवा , प्रचण्ड र नेपालले भेटेर छलफल गरेका हुन् । तीन नेताले बैठक गरेपछि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको हो ।

देउवालाई मतदान गर्ने दलहरूमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी (लोकतान्त्रिक) रहेका छन् ।

समाजवादी (लोकतान्त्रिक)ले आफू सरकारमा नजाने बताएको छ । तर देउवाले पक्षमा मतदान गर्ने सबै दललाई सरकारमा ल्याउन चाहेका हुन् । यस विषयमा छलफल गर्नुपर्ने देखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !