८ मंसिर २०८१, शनिबार

एमसिसी पास गराउन अमेरिकाको कूटनीतिक पहल तिव्र

प्रकाशित मिति :  9 February, 2020 8:04 am


काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विपक्षमा उभिएपछि त्यसलाई पास गराउन कूटनीतिक पहल सुरु भएको छ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद्बाट एमसिसी छिट्टै पास हुने बताए पनि अन्य नेताहरूले अहिले राखिएका प्रावधान संशोधन नभई पास नहुने बताएपछि अमेरिकाले कूटनीतिक पहल थालेको हो।

नेपालका लागि अमेरिकी राजदूत (यान्डी बेरीले बिहीबार पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता तथा विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपाललाई उनकै निवासमा पुगेर भेट गरे। यता अमेरिकी राजदूतको भेटघाट बढिरहेका वेला एमसिसीका डेपुटी प्रमुख जोनाथन ब्रुक्स पनि नियमित परामर्शका लागि भन्दै नेपाल आएका छन्।

यसअघि माघ ३ गते अमेरिकी दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदासमेत सार्वजनिक गरेको थियो जसमा एमसिसी परियोजनामा कुनै सैन्य मामिला नजोडिएको स्पष्ट पारिएको थियो। त्यसपछि नेकपाको केन्द्रीय कमिटीको बैठकमा एमसिसीबारे व्यापक विरोध भएपछि राजदूत आफैं सक्रिय मात्रै भएका छैनन्, एमसिसीका युरोप–एसिया प्रशान्त उपप्रमुखसमेत रहेका ब्रुक्स स्वयं चार दिने भ्रमणका लागि नेपाल आएका हुन्।

‘सत्तारूढ दलभित्र व्यापक विरोध भएकाले त्यसबारे स्पष्ट पार्ने र कूटनीतिक लबिङ सुरु भएको देखिन्छ,’ नेकपाका एक नेताले नागरिकसँग भने। उनका अनुसार विदेश विभाग प्रमुख नेपालनिकट भीम रावलले बढी नै विरोध गरेका कारण राजदूतले नेपालसँग भेटघाट गरेका हुन्। नागरिक दैनिकले खबर छापेको छ ।



प्रतिक्रिया दिनुहोस !