८ आश्विन २०८१, मंगलबार

नेपाल र ठाकुर पक्ष समेटेर भदौ १० गते मन्त्रिपरिषद् विस्तार हुने

प्रकाशित मिति :  20 August, 2021 5:09 pm


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसदहरूलाई समेटेर भदौ १० गते मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

निर्वाचन आयोगले नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको अध्यक्षतामा प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि भदौ ९ गते सनाखत गर्ने समय ताेकेकाले प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने समय सारेका हुन् ।

देउवालाई सदनमा प्रधानमन्त्री बनाउन भएको मतदानमा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेका नेपाल समूह सहभागी भएका थिए ।

देउवा अघि जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुरले ओलीलाई समर्थन गरेको भएपनि देउवालाई पनि मतदान गर्न निर्णय गरेका थिए ।
देउवाले आफू प्रधानमन्त्री भएयता ठाकुर पक्षलाई सरकारमा सघाउन आग्रह गरिआएका छन् ।

राजनीतिकरूपमा अप्ठयारोमा परेको नेपाल र ठाकुर समूहलाई राजनीतिक दल सम्बन्धी ऐन अध्यादेश मार्फत संशोधन गरी पार्टी खोल्न सहज बनाइ दिएपछि देउवाको आग्रहलाई ठाकुरले पनि मान्ने देखिएको देउवा र ठाकुर निकट स्रोतले बताएका छन् ।

शुक्रबार बसेको आयोगको बैठकले माधव नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्न भदौ ९ गते बोलाएको हो ।

सनाखतको समयमा बिहान साढे ११ बजेदेखि २बजेसम्मका लागि तोकिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !