३ आश्विन २०८१, बिहिबार

नेपाललाई दिल्लीबाट खनालको समर्थन, एकिकृत समाजवादीले थाल्यो फेसबुक प्रचारप्रसार

प्रकाशित मिति :  20 August, 2021 6:05 pm


काठमाडौं । माधव कुमार नेपाल नेतृत्वकाे प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) पार्टीलाई नयाँ दिल्लीमा स्वास्थ्य उपचार गराइरहेका वरिष्ठ नेता झलनाथ खनालले समर्थन व्यक्त गरेका छन् ।

खनालको आधिकारिक फेसबुक पेजमार्फत् सचिवालयले यस्ताे जानकारी गराएको हाे । ”भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनु भएको सम्पूर्णमा जानकारी गराउँदछौं,” फेसबुक पाेष्टमा भनिएकाे छ ।

एकिकृत समाजवादी पक्षले आफूहरुलाई नयाँ पार्टी खोल्न बाध्य पारिएको जनाएका छन् । औपचारिकता प्राप्तीको प्रक्रियामा रहेको पार्टीले फेसबुक मार्फत् प्रचार प्रसार र आफ्ना धारणा सार्वजनिक गर्न थालेको छ ।

सीपीएन युनिफाइड सोसलिस्ट नामको फेसबुक पेजमा भनिएको छ, “एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा ९एमाले०को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी) गठन गरेका छौं ।”

नयाँ पार्टीका बारेमा एकीकृत समाजवादीले आम नेपाली जनतालाई सहयोग गर्न अपिल पनि गरेको छ । एक फेसबुक स्टाटसमा भनिएको छ, “नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत् चाहेको सँस्कृति एवम् समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौं ।”

हाललाई साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहेका र विद्रोहको पक्षमा हस्ताक्षर गरेका, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला थपिएका, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका, संघीय संसदका सांसद तथा वैधानिक प्रावधान अनुसार पु(याउनु पर्ने महिला सदस्यलाई समावेश गरेर केन्द्रीय कमिटी प्रस्ताव गरिएको उल्लेख छ ।

“हाम्रो दर्ता प्रक्रिया वैधानिक रूपमा पूरा हुनासाथ राष्ट्रिय भेला र सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौं,” पोष्टमा भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !