ज्योतिषी पन्तको ‘दिव्य ज्योतिष विज्ञान’ पुस्तक सार्वजनिक
काठमाडौं ।
ज्योतिषी गुरु दिवाकर पन्त आफ्नो पहिलो पुस्तक ‘दिव्य ज्योतिष विज्ञान’ सार्वजनिक गरेका छन् ।
वैदिक ज्योतिषका विषयमा लेखिएको उनको पुस्तक हालै बजारमा सार्वजनिक भएको हो । यस पुस्तकलाई पैरवी बुक हाउसले प्रकाशन गरेको छ ।
पुस्तकमा ज्योतिषका आधारभूत विषयदेखि विस्तृत विषयहरु समावेश गरिएको छ । साथै नेपालमा ज्योतिष क्षेत्रमा पहिलो पटक आधुनिक प्रणालीअनुसार गरिएको अनुसन्धानसमेत समावेश गरिएको छ ।
यो अनुसन्धान यसै पुस्तकका लागि बृहद् रुपमा गरिएको र ज्योतिष क्षेत्रमा यस्तो अनुसन्धान नेपालमा पहिलो पटक भएको लेखक ज्योतिषी पन्तले बताए ।
अनुसन्धानबाट आमनेपालीले ज्योतिष क्षेत्रका बारेमा हेर्ने गरेको दृष्टिकोण र सुझाव छर्लङ्ग पारेको उनले बताए । यस अनुसन्धानबाट वैदिक ज्योतिषका बारेमा आम सर्वसाधारणको अवधारणा, विचार, अभ्यास तथा सुझाव आदी थाहा मिलेको उनले बताए ।
पुस्तकमा ज्योतिष क्षेत्रका बारेमा आधारभूत विषयदेखि विस्तृत विषयहरुसम्म समावेश गरिएका छन् । यस पुस्तक ज्योतिष विद्याका विद्यार्थी, ज्योतिष विद्या अभ्यासरत ज्योतिषी, वैदिक धर्म संस्कृतिप्रति रुचि राख्ने, अध्यता, पण्डित, पुरोहित आदी सबैलाई उपयोगि हुने विश्वास लिएको लेखक ज्योतिषी पन्तको भनाई छ ।
नेपाली भाषामा ज्योतिष सम्बन्धि भरपर्दाे पुस्तक अभाव रहेको अवस्थामा विस्तृत रुपमा तयार पारिएको सरल यस पुस्तकले उक्त अभाव पूर्ति गर्ने विश्वास लिएको पैरवी बुक हाउसका अध्यक्ष चन्द्रप्रसाद सिवाकोटीले बताए ।
ज्योतिष, धर्म, अध्यात्मका बारेमा हिन्दी भाषाका पुस्तकमा मात्र भर पर्नु परिरहेको सन्दर्भमा सरल रुपमा नेपाली भाषामा लेखिएको यस पुस्तकले यसबारेमा रुचि राख्ने जो कोही पनि लाभान्वित हुने विश्वास लिएको उनको भनाई छ ।
३ सय ८० पृष्ठको यस पुस्तकमा वैदिक ज्योतिषको शास्त्रसम्मत ज्ञान, ग्रहका बारेमा जानकारी, मेडिकल एस्ट्रोलोजी, ज्योतिष र शिक्षा, ज्योतिष र पेशा, राशिबारे जानकारी, पञ्चाङ्ग, संवत्सर, कुण्डलीबारे विस्तृत जानकारी समावेश गरिएका छन् । साथै समय गणनाबारे जानकारी, विश्वका समय गणना पद्धति, अक्षांश र देशान्तरसम्बन्धी जानकारी, मलमास, भयात तथा भभोगबारे जानकारी, नाम जुराउने तरीका लगायत समावेश गरिएको छ ।
साथै फलित ज्ञान, विभिन्न योगहरुबारे जानकारी, शनिसाढे साती, ग्रहण, विदेश सेटलमेण्ट तथा विदेश यात्रा, विवाह मिलान, गोत्रबारे जानकारी विस्तृत रुपमा समावेश गरिएको छ । साथै पुस्तकमा रुद्राक्षका बारेमा जानकारी, रुद्राक्षका प्रकार, रुद्राक्ष धारण बिधि, पाञ्चायन देवता स्थापना बिधि, नेपाल मनाईने मुख्य मुख्य चाडबाडबारे जानकारी, एकादशी तिथि र यसको महत्व लगायतका विविध विषयहरु विस्तृत रुपमा राखिएका छन् ।
पुस्तकको मूल्य ६ सय ७५ रुपैयाँ राखिएको पैरवी बुक हाउसका अध्यक्ष सिवाकोटीले जानकारी दिए । उनले पुस्तकमा गरिएको मेहनतको आधारमा भन्दा सर्वसुलभ तरीकाले पुस्तक उपलब्ध गराउने उद्देश्यका साथ सुपथ मूल्यका साथ पुस्तकलाई बजारमा ल्याएको बताए । पुस्तक छिट्टै देशभरका प्रमुख–प्रमुख पुस्तक पसलहरुबाट उपलब्ध हुने र हालका लागि पैरवी बुक हाउस पुतलीसडकबाट खरिद गर्न सकिने पनि उनले बताए ।
पुस्तकमा ‘ज्योतिष विद्याप्रति विश्वास र अवधारणा’ नामक विषयमा विस्तृत अनुसन्धान समावेश गरिएको छ । जसका लागि विभिन्न ११ वटा प्रश्नावली तयार पारि सर्वेक्षण बिधिमार्फत प्रत्यक्ष रुपमा र अनलाईनबाट गरि ११ सय ५६ जना जवाफकर्तासँग प्रश्नावली भर्न लगाई तथ्यांक संकलन गरिएको छ ।
अनलाईन विधिबाट विश्वका २० भन्दा बढि मुलुकमा रहेका नेपालीले उक्त प्रश्नावली भरेर सहभागिता जनाएको पुस्तकमा उल्लेख गरिएको छ । उक्त तथ्यांकलाई आधुनिक अनुसन्धानको बिधि, मापदण्ड, प्रकृया र मानक अनुसार विश्लेषण गरि बृहत्तर रुपमा अनुसन्धानमार्फत निचोड निकालिएको लेखक पन्तले जानकारी दिए ।
यसले अनुसन्धाले आमसर्वसाधारणले ज्योतिष विद्या र राशिफलका बारेमा के कस्तो धारणा राख्ने रहेछन् ? के कस्तो सुधारको अपेक्षा लिएका रहेछन् ? भन्ने छर्लङ्ग पारेको लेखक पन्तले बताए । यो अनुसन्धान आगामि दिनमा अरु सबैका लागि र विशेष गरि वैदिक ज्योतिष विद्या, पूर्विय दर्शन, वैदिक धर्म संस्कृति र अध्यात्म प्रति रुचि राख्ने सबैलाई उपयोगि हुने गरि आधारस्तम्भका रुपमा स्थापित हुने लेखक पन्तले बताए ।
पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओली (हाल निवर्तमान प्रधानमन्त्री), नेपाली कांग्रेसका लोकप्रिय नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइराला, नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम तथा संस्कृतिविद् हरिप्रसाद सोडारीले शुभकामना प्रदान गर्नु भएको छ । भाषा सम्पादन तिलकप्रसाद लुइटेलले गर्नु भएको छ ।
लेखक ज्योतिषी पन्त रेडियो कान्तिपुरमा कार्यरत छन् । देशमा युवा ज्योतिषीका रुपमा स्थापित ज्योतिषी पन्त गम्भीर खाले अनुसन्धान र गहन अध्ययनरत ज्योतिषीका रुपमा परिचित छन् ।
लेखक पन्तका सैयौँ लेखकहरु देशका राष्ट्रियस्तरका संचारमाध्यममा प्रकाशित भएका छन् । साथै अनेकौ टेलिभिजन तथा युट्युवमा उनका अन्तर्वार्ताहरु लोकप्रिय बनेका छन् । लेखक पन्त ज्योतिषी, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद्, अध्येता एवं हस्तरेखाविद्का रुपमा स्थापित छन् ।
दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक पन्तले छिट्टै नेपाली भाषामा भरपर्दाे र गहन वास्तु विषयमा पुस्तक निकाल्ने अन्तिम तयारीमा रहेको पनि जानकारी दिए ।
विश्वभर चर्चित ट्राभल्स एजेन्सीले लेखक ज्योतिषी पन्तको सेवालाई अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गरेको छ । जुन नेपालको सन्दर्भमा पहिलो पटक कुनै पनि नेपाली ज्योतिषीको सेवा औपचारिक रुपमा अन्तर्राष्ट्रिय बजारमा पुगेको हो ।
लेखक पन्तको यो पहिलो पुस्तक हो भने छिट्टै वास्तु विषयको पुस्तक प्रकाशनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए ।