इन्जिनियरिङ कलेजको विवादमा शिक्षा समितिले बोल्यो, कोभिडको समयभरको पढाइ शुल्क बाहेक नलिन निर्देशन
काठमाडौं । अध्ययन शुल्क को विवाद चलिरहेको इन्जिनियरिङ कलेज र विद्यार्थीहरुको बिबादका विषयमा संसदको शिक्षा तथा स्वास्थ्य समितिले चासो व्यक्त गरेको छ ।
मंगलबार समिति अध्यक्ष जयपुरी घर्तीकाे अध्यक्षतामा बसेको समितिको वैठकले कोभिडको समयमा अन्य क्रियाकलाप नभएकाले अध्ययन शुल्क मात्र (ट्युसन फि) लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
निजी इन्जिनियरिङ कलेजले अनलाइन कक्षाको चर्को शुल्क लिएको विरोधमा विद्यार्थीहरुले प्रर्दशन गर्दै आएका छन् । विगतमा कोरोना संक्रमणपछि भौतिक रुपमा कक्षा संचालन नभएको हुँदा अन्य शुल्क हटाएर पढाइ शुल्क मात्र लिनुपर्ने काठमाडाैं इन्जिनियरिङ कलेजका विद्यार्थी भुषण गाहाले बताए ।
उनका अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत रहेका १० वटा प्राइभेट कलेजहरुले २ वटा मोडालिटीमा शुल्क लिइरहेका छन् जसमा एउटा सेमेस्टार शुल्क र अर्को मासिक शुल्क रहेको छ ।
विगत २ वर्ष देखि अनलाईन कक्षा संचालन भएको र भौतिकरुमा कक्षा संचालन नभएको अवस्थामा सेमेस्टार शुल्क अन्र्तगत कलेजमा हुने खेलकुद सप्ताह तथा अन्य विविध क्रियाकलापमा लाग्ने शुल्क हटाउनुपर्ने गाहाले बताए ।
आन्दोलनरत विद्यार्थीहरुले सेमेस्टार शुल्कमा छुट दिनुपर्ने माग राख्दै मंगलबार पनि डीनको कार्यालयमा धर्ना जारी राखेका छन् ।