८ माघ २०८१, मंगलबार

नेकपा एकीकृत समाजवादीका केन्द्रीय समिति सदस्यहरूको निर्वाचन आयोगमा सनाखत

प्रकाशित मिति :  25 August, 2021 2:20 pm


काठमाडौं । निर्वाचन आयोगमा दर्ताका लागि प्रस्तुत नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियाको लागि निर्वाचन आयोगमा २९ संघीय सांसदले सनाखत गरेका छन् ।

सो प्रक्रिया अन्तर्गत आयोग पुगेका ४ सांसदको सनाखत गर्न आयोगका पदाधिकारीहरूले नमिल्ने बताएपछि प्रस्तावित अध्यक्ष माधव नेपाल सहितका नेता र आयोगका आयुक्तहरू बीच छलफल चलिरहेको पार्टीका नेता विरोध खतिवडाले जानकारी सार्वजनिक गरेका छन् ।

पार्टी दर्ता गर्दा सूचीमा नभएका र पछि नेकपा एमालेबाट नेपाल समूहमा आएका चार जना सांसदको सनाखतमा गर्ने वा नगर्ने विषयमा अन्यौल देखिएको हो ।

यसैगरी ५८ जना केन्द्रीय सदस्यको समेत सनाखत भएको छ । भारतको एपोलो अस्पतालमा उपचार गराइरहेका नेता झलनाथ खनालले टेलिफोनबाट आफ्नो सनाखत निर्वाचन आयोगमा गराएका छन् ।

दल विभाजन अध्यादेश अनुसार संघीय संसद वा केन्द्रीय समति सदस्य मध्ये २० प्रतिशत सदस्यको आवश्यकता हुने छ । यस आधारमा ४ जना सांसदको सनाखत नभए पनि सो पार्टी दर्ताका लागि आवश्यक गणपूरक संख्या पुग्ने देखिएको छ ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भनेजस्ता उनले कारबाही गरेका १४ जनाको विषयमा कारबाही गरी नयाँ एमाले सूची निर्वाचन आयोगमा पठाएको भए संघीय सदस्यहरूको आधारमा पार्टी दर्ता गर्न नमिल्ने देखिएको थियो ।

तर साविक एमाले केन्द्रीय समिति सदयका ५८ जनाले सनताखत गरेकाले उनको पार्टीलाई यो प्रावधान अनुसार सहजै नयाँ पार्टी दर्ता हुन सक्ने देखिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !