८ मंसिर २०८१, शनिबार

दिगो विकासका लक्ष्य पुरा गर्न संयुक्त राष्ट्र संघ र नेपाल उद्योग वाणिज्य महासंघबीच सहकार्य

प्रकाशित मिति :  26 August, 2021 12:56 pm


 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच औपचारिक भेटवार्ता भएको छ ।

बुधबार भएको भेटवार्तामा संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूलाई पुरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्य, नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुदा आइपर्ने चुनौति सामना गर्न निजी क्षेत्रको भूमिका एवं कोभिडबाट अर्थतन्त्रमा परेको असर न्युनिकरणका लागि संयुक्त प्रयास गर्ने लगायतका विषयमा छलफल भएको हो ।

मुलुकभर बलियो संजाल हुनुका साथै तल्लो तहसम्म पुुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पुरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने महासंघका अध्यक्ष गोल्छाले बताए ।

महासंघले अगाडी बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण (नेट २०३०) का कार्ययोजना कार्यान्वयन हुनसके नेपालले दिगो विकास लक्ष्य पनि हासिल गर्न सक्ने उनको धारणा थियो ।

नेट २०३० ले नेपालले अवको पांच वर्षभित्र विकासशील मुलुकमा स्तरोन्नती हुन पुरा गर्नुपर्ने तयारीलाई समेत समावेश गरेको छ । महासंघले निजी क्ष्ँेत्रमा पर्न सक्ने प्रभाव र न्युनिकरणका उपाय सहितको अध्ययन प्रतिवेदन तयार पारेको छ ।

मुलुकभित्र उद्योग व्यवसायको विस्तार, लगानी अभिवृद्धि, रोजगारी सृजनाका लागि गर्नुपर्ने सुधारका विषयमा नेट २०३० ले दिएका सुुझावहरूको कार्यान्वयनमा महासंघले सरकारमा समेत पहल गरी सकेको अध्यक्ष गोल्छाले बताए । कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघसंग पनि सहकार्य आवश्यक रहेको उनकाे भनाइ छ।

अध्यक्ष गोल्छाले संयुक्त राष्ट्र संघसँग महासंघले निरन्तर सहकार्य गर्दै आएको र दिगो आर्थिक विकासका लक्ष्य हासिल गर्न महासंघ सहकार्य गर्न तत्पर रहेको बताएका छन् ।

भेटमा सारा व्योसोलो चुुनौतीलाई बहन गर्नसक्ने नेपाली निजी क्षेत्रको क्षमताको प्रशंसा गरिन् । कोभिड महामारीका बीचमा पनि नेपालको अर्थतन्त्रलाई गम्भीर संकटबाट जोगाउन निजी क्षेत्रले खेलेको भूमिका प्रशंसनीय रहेको उनले बताइन् ।

भेटवार्तामा संयूक्त राष्ट्र संघ र महासंघ बीच हुनसक्ने सहकार्यका विविध क्षेत्रका विषयमा पनि छलफल भएको थियो । छलफलमा महासंघ सचिवालय र संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो ।

 



प्रतिक्रिया दिनुहोस !