८ माघ २०८१, मंगलबार

अब प्रदेश र स्थानीय तहमा नेता नेपालको शक्ति परीक्षण अवधि सुरु

प्रकाशित मिति :  26 August, 2021 2:48 pm


काठमाडौं । निर्वाचन आयोगबाट पार्टीको मान्यता पाएको नेकपा (एकीकृत समाजवादी)काा अध्यक्ष माधवकुमार नेपालको प्रदेश तथा स्थानीय तहमा शक्ति परीक्षण अवधि सुरु भएको छ ।

अहिले सम्म नेता नेपाललाई विश्वास दिलाएका प्रदेशका जनप्रतिनिधिहरूको पनि परीक्षण हुने भएको नेपाल निकट एक नेताले बताएका छन् ।
एमालेका प्रदेश सभा सदस्य तथा स्थानीय निकायका जनप्रतिनिधिहरूलाई केपी शर्मा ओली अध्यक्षको नेतृत्वमा रहेको एमाले बस्ने वा नेपाल नेतृत्वमा गठिन एकीकृत समाजवादीमा बस्ने निर्णय गर्न पाउने अवधि भदौ २९ गतेसम्म रहेको छ ।

सो अवधिमा प्रदेश सभा सदस्य र स्थानी तहका जनप्रतिनिधिहरूले एकपटक जुन पार्टी रोजे सोही पार्टीको सदस्य रहने प्रावधान रहेको छ ।
बुधबार निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेकाले सो मितिदेखि २१ दिन भित्र पार्टी रोज्न पाउने अवधि सुरु भएको हो ।

पार्टी रोज्नेहरूको सनाखत निर्वाचन आयोगमा पठाउनुपर्ने हुन्छ ।

२१ दिनभित्र प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारी समक्ष स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने र सो सनाखत गरिएको विवरण सम्बन्धित निर्वाचन कार्यालयले ७ दिनभित्र आयोगमा पठाउनुपर्ने प्रावधान रहेको छ।

यो अवधिमा नेपालले आफूलाई विश्वास दिलाएकाहरूको पहिचान गरी उनलाई आफ्नो पक्षमा ल्याउने प्रयास गर्नुपर्नेछ ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार २१ दिनभित्र माधव नेपालको पार्टीमा जाने प्रदेश सांसद र स्थानीय तहका प्रतिनिधिलाई दल त्याग अनुसार कारबाही हुने छैन। त्यसपछि पार्टी छाड्नेको हकमा पार्टीले कारबाही गर्न पाउनेछ।

 



प्रतिक्रिया दिनुहोस !