नेप्से १७ अंकले बढ्दा १३ अर्बको कारोबार
काठमाडौं । साताको कारोबारको अघिल्लो दिन बुधबार ४८.४२ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको अन्तिम दिन आज १७.५७ अंकले बढेर ३०९४.०१ अंकमा पुगेको छ ।
त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.४० अंकले बढेर ५७१.३९ अंकमा पुगेको छ ।
स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी रहेका ८ वटा उपसमूहको परिसूचक घटेको छ ।
आज पनि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरममूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर ५ हजार १९८ रुपैयाँ पुगेको छ ।
आज कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभ्लप्मेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीकोे ९३ करोड ८४ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
कूल २३२ वटा कम्पनीको दुई करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७५२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।