८ आश्विन २०८१, मंगलबार

नेपाली कांग्रेसभित्र सभापति देउवा र पौडेल पक्षबीच सहमति,महाधिवेशनको वातावरण बनेको निष्कर्ष

प्रकाशित मिति :  28 August, 2021 1:24 pm


काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको समयलाई लिएर भएको विवाद समाधान भएको छ ।

सत्तारुढ नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच महाधिवेशनबारे सहमति जुटेको हो । आफू पक्षीय नेतालाई सहमतिबारे जानकारी गराउँदै नेता पौडेलले भदौ १८ गते वडा अधिवेशन हुने बताएका छन् ।

दुई नेताबीच क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्ने, केन्द्रीय कार्यालयमा जारी रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान सिंहले जानकारी गराए ।

सभापति देउवासँगको सहमतिपछि पौडेल पक्षले आज आफूनिकट नेता तथा जिल्ला सभापतिसँग पूर्वमहामन्त्री सिंहको निवास चाक्सिबारीमा छलफल गरेको थियो । छलफलपछि नेता सिंहले देशभरका ६ हजार ७४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले जानकारी दिए ।

जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र क्रियाशीलको नाम सार्वजनिक गर्न राखेको माग पनि पुरा गर्ने सहमति भएको छ । सहमतिसँगै जिल्ला सभापतिहरूले रिले अनसन तोड्ने भएका छन् ।

४८ जिल्लाका क्रियाशीलको नाम सार्वजनिक भइसकेको छ भने अरु जिल्लाको एकरदुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुनेगरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाइने र क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने विषयमासमेत सहमति जुटेको सिंहले जानकारी दिए ।

साथै नेता सिंहले अब पार्टीभित्र नयाँ उत्साहका साथ अधिवेशन केन्द्रीत हुने वातावरण बनेका भन्दै सबैलाई महाधिवेशनमा लाग्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !