१३ मंसिर २०८१, बिहिबार

सरकारले ९८ संस्थामा गरेको करिब २ खर्ब लगानीबाट शून्य प्रतिफल

प्रकाशित मिति :  29 August, 2021 3:06 pm


काठमाडौं । नेपाल सरकारले विभिन्न ९८ संस्थामा गरेको लगानीबाट कुनै प्रतिफल आएको छैन । महालेखाले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सरकारले विभिन्न ९८ संस्थामा गरेको १ खर्ब ९३ अर्ब ७ करोड रुपैयाँ लगानीबाट यो वर्ष कुनै प्रतिफल प्राप्त नभएको जनाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयबाट प्राप्त विवरण अनुसार नेपाल सरकारले गत वर्षसम्म विभिन्न ११३ संस्थामा रू. २ खर्ब ९६ अर्ब ९२ करोड सेयर लगानी गरेकोमा यो वर्ष  रू.१२ अर्ब ७२ करोड र बोनस सेयर प्राप्त र समायोजनबाट रू. ६ अर्ब ६ करोड थप भई यो वर्षसम्म रू.३ खर्ब १५ अर्ब ७० करोड सेयर लगानी भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै गत वर्ष  नेपाल सरकारलाई नेपाल राष्ट्र बैङ्कले रू.९ अर्ब ९६ लाख, नेपाल टेलिकमले रू.६ अर्ब १७ करोड ७७ लाख नेपाल आयल निगमले रू.४ अर्ब १५ करोड ४७ लाख कृषि विकास बैंक लिमिटेडले रू. १ अर्ब ४२ करोड ९५ लाख र अन्य ११ संस्थाले रू.२ अर्ब ६९ करोड २६ लाख समेत १५ संस्थाले रू.२३ अर्व ४६ करोड ४१ लाख नगद लाभांश र नेपाल बै लिमिटेडले रू.७५ लाख ६ हजारको बोनस सेयर उपलब्ध गराएको महालेखाले जनाएको छ ।

प्रतिवेदनका अनुसार अघिल्लो वर्ष भन्दा गत वर्ष विभिन्न संस्थाबाट १४.८५ प्रतिशत बढी लाभांश प्राप्त भएको देखिन्छ । गत वर्ष शून्य प्रतिफल दिने संस्थाहरु संचालन तथा व्यवस्थापनमा दक्षता ल्याउन महालेखाले सुझाव दिएको छ ।



प्रतिक्रिया दिनुहोस !