प्रदेश २ मा सबैभन्दा बढी क्षमता उपयोग गर्नेमा सिमेन्ट उद्योग, दोस्रोमा छड तथा पत्ति उद्योग
काठमाडौं । प्रदेश २ मा सिमेन्ट उद्योगले सबैभन्दा बढी ९८.३० प्रतिशत क्षमता उपयोग गरेको पाइएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन’ अनुसार सबैभन्दा कम ड्राई सिरप उद्योगको क्षमता उपयोग सबैभन्दा कम अर्थात १.६० प्रतिशत रहेको देखिएको छ ।
समीक्षा अवधिमा ड्राई सिरपको माग घटेको र यसको उत्पादन मौज्दात रहेका कारण ड्राई सिरप उद्योगको औसत क्षमता उपयोगमा कमी आएको राष्ट्र बैंकको भनाई छ ।
समीक्षा अवधिमा फलामको छड तथा पत्ति उद्योगको क्षमता उपयोग ८०.१५ प्रतिशत, सावुन उद्योगको क्षमता उपयोग ७८.१९ प्रतिशत, वनस्पति घ्यू तथा तेल उद्योगको क्षमता उपयोग ६८.१३ प्रतिशत, अन्न तथा पशुदाना उद्योगको क्षमता उपयोग ६५.९० प्रतिशत रहेको छ ।
त्यस्तै चुरोट उद्योगको क्षमता उपयोग ४३.५२ प्रतिशत रहेको छ भने प्रशोधित छाला, चिनी, ईट्टा र कागज उद्योगको क्रमशः ३१.२० प्रतिशत, १९.०७ प्रतिशत, १०.०० प्रतिशत, ५.७१ प्रतिशत रहेको छ ।
गत बर्षको यसै अवधिमा यस प्रदेशका प्रमुख उद्योगहरूमा सिमेण्ट उद्योगको क्षमता उपयोग ९४.४७ प्रतिशत, मदिरा उद्योगको ८०.८४ प्रतिशत, सिन्थेटिक कपडाको ७९.०२ प्रतिशत, गहँुको पिठोको ७७.०९ प्रतिशत, प्लाष्टिक सामानको ५९.७७ प्रतिशत थियो ।
त्यस्तै पशुदाना उद्योगको ५६.६७ प्रतिशत रहेको थियो भने कागज, चिनीे, चुरोट, फलामे छड र वनस्पति घिउ तथा तेल उद्योगको क्रमशः २१.७४ प्रतिशत, २४.५८ प्रतिशत, ५०.७६ प्रतिशत, ३१.८६ प्रतिशत र ४०.७६ प्रतिशत रहेको थियो ।
नमुना छनौटमा समेटिएका उद्योगहरुमा जम्मा ८ हजार ५ सय ६ जना रोजागारीमा आवद्ध रहेका छन् । ती मध्ये ८ हजार ४२ जना स्वदेशी कामदार रहेका छन् भने बाँकी ४ सय ६४ जना विदेशी कामदार रहेका छन् ।