भदौ २० गतेदेखि सवारी लाइसेन्सको परीक्षा, आफ्नै सवारीले ट्र्रायल दिन पाइने
काठमाडौं । दोस्रो लहरको कोरोना माहामारीसँगै निषेधाज्ञा जारी पछि रोकिएको सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा यहि भदौ २० गतेदेखि पुनः सुरु हुने भएको छ ।
नयाँ प्रणाली मार्फत यहि भदौ २० गतेपछि क्रमैसँग देशभरका लाइसेन्स कार्यालयले पुनः परीक्षा सुरु गर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
कोभिड–१९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन समबन्धी मापदण्ड–२०७८’ नै जारी गरेर परीक्षा सुरु गर्न लागिएको विभागले जनाएको छ ।
परीक्षार्थी स्वयमले अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र आफ्नो पीउने पानीको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ । भिडभाड नगरी भौतिक (सामाजिक) दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीहरूको शारीरिक तापक्रम मापन गर्नुपर्ने लगायतका व्यवस्था पनि गरिएको छ ।
प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउने, कोभिड–१९ संक्रमण भएका परीक्षार्थीहरुलाई निको भएपछि निजको रिपोर्ट हेरेर प्राथमिकतापूर्वक परीक्षामा सामेल गराउने लगायतका व्यवस्था पनि मापदण्डमा छ ।
यदि परिक्षार्थी तोकिएको समयमा उपस्थित हुन नसके सो दिनको अन्य सिफ्टमा संचालन हुने परीक्षामा समेत सहभागी हुन नपाउने विभागले जनाएको छ ।
विभागका मापदण्डअनुसार परीक्षा सुरु हुनु अगावै परीक्षार्थीहरुलाई उनीहरुको ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिनेछ ।
परिक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई मात्र सहभागी गराउने भनिएको छ । कार्यालयले खुल्ला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नु पर्ने मापदण्डको व्यवस्था छ ।
अब सुरु हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ नियमहरु लागू गर्ने हुनेछन् । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ ।
त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ ।
आफ्नै सवारीमा ट्रायल
लिखित परीक्षा पास भएका परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन सक्नेछन् । तर, त्यसका लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको ह्विल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।
कार जीपको हकमा कम्तिमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३ सय मिलिमिटर ह्विल बेस भएको, लम्बाइ चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।
निर्देशिकाअनुसार ट्रायलमा प्रयोग गरिने सवारीमा इन्धन आपूर्ति, ब्रेक र ट्रान्समिसन प्रणाली चुस्त हुनुपर्नेछ । झ्याल, ढोका, लकलगायतका प्रणाली ठीक हुनुपर्छ । ट्रायल गर्दा कार÷जीपको ‘रेयर भ्यू’ क्यामेरा छोप्नुपर्नेछ ।
नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ ले लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी परिवर्तन गरेको छ ।
हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनेछन् ।