६ आश्विन २०८१, आइतबार

अफगानिस्तानबाट पूर्णरुपमा अमेरिकी सेना फिर्ता, २० वर्षदेखि जारी लडाइँ र ‘एक युग’को अन्त्य

प्रकाशित मिति :  31 August, 2021 8:48 am


काठमाडौं । अफगानिस्तानबाट अमेरिका पूर्ण रुपमा फिर्ता भएको छ । तालिवानले दिएको समयभित्रै अमेरिका अफगानिस्तानबाट फिर्ता भएको हो ।

अमेरिकाको अन्तिम उद्दारका रुपमा सी–सेभेन्टीन विमान काबुलस्थित हमिद कारजाई अन्तराष्ट्रिय विमानस्थलबाट उडेको थियो । अन्तिम उद्दारमा अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमाण्डर जनरल क्रिश डोनाह्यु सहभागि थिए ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रमुख जनरल फ्र्याङ्क मकेन्जीले पेन्टागनमा आयोजित प्रेस ब्रिफिङमा सन् २००१ को सेप्टेम्बर ११ देखि अफगानिस्तानमा सुरु भएको युद्ध पूर्णरुपमा बन्द भएको घोषणा गरे । उनले भने,“म अफगानिस्तानबाट हाम्रो पूर्ण रुपमा फिर्ता तथा अमेरिकी नागरिकं, तेस्रो देशका नागरिक तथा कमजोर अफगानीलाई निकाल्ने सैनिक मिसन समाप्तीको घोषणा गर्दछु ।”

अमेरिकी रक्षा विभागले एउटा तस्वीर सार्वजनिक गरेको छ जसमा भनिएको छ कि अफगानिस्तान छोड्नेमा उनी अन्तिम अमेरिकी सैनिक हुन् । अफगानिस्तान छोड्दै गरेका ती सैनिक मेजर जनरल क्रिस डानाहू रहेको उल्लेख छ ।

यससँगै अफगानिस्तानमा २० वर्षदेखि चलेको युद्धसँगै एक युगको अन्त्य भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी सैनिक फिर्तासँगै अफगानिस्तानमा तालिबानको पूर्ण नियन्त्रण हुने छ । अमेरिकी सैन्य फिर्तापछि तालिबानीले खुशीयाली मनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !