६ आश्विन २०८१, आइतबार

चीनमा सात बर्षसम्मका बालबालिकालाई लिखित परीक्षामा सामेल गर्न नपाइने, दुई कक्षासम्म गृहकार्य दिन रोक

प्रकाशित मिति :  31 August, 2021 2:04 pm


काठमाडौं । चीनमा सात बर्षसम्मका बालबालिकालाई लिखित परीक्षामा सामेल गराउन रोक लगाइएको छ । शिक्षा प्रणालीमा सुधार अन्तर्गत यो नियम लगााइएको हो ।

दुइ कक्षासम्मका विद्यार्थीहरूका लाागि होमवर्कमा पनि रोक लगाइएको छ। गत साता चिनियाँ अधिकारीहरूले हरेक ६ वर्ष पछि शिक्षकहरूको स्कूल फेर्नुपर्ने आवश्यकता औंल्याएका थिए । यो वर्ष पहिलो र दोस्रो कक्षाका विद्यार्थीहरूको लिखित परीक्षा हटाइदिएको छ ।

आमाबाबु तथा बालबालिकाहरूमाथि हुने गरेको दबाब कम गर्नु यसको उद्देश्य रहेको मानिएको छ । पटक पटक लिइने परीक्षाका कारण विद्यार्थीहरूमा अत्यधिक तनाव हुने गरेको चीन सरकारकाे बुझाइ छ।

सोमबार जारी गरिएको शिक्षा निर्देशमा जुनियर हाइस्कूलमा हुने परीक्षाहरूलाई पनि सीमित गरिएको छ । चीनमा भइरहेको व्यापक शिक्षा सुधार कार्यक्रमको हिस्साको रूपमा यो सुधार गरिएको हाे ।

कम उमेरका विद्यार्थीहरूमाथि मानसिक र शारीरिक दबाबका कारण उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको चीन सरकारले जनाएकाे छ । जुलाईको अन्त्यमा चीनका सबै नीजि काेचिङ सेन्टरहरूमाथि रोक लगाइएको थियो । यसबाट चीनको खर्बौंको कोचिङ उद्योग प्रभावित भएको थियो ।

चीनमा शिक्षा असमानता कम गर्न यो कदम उठाइएको बुझिएकाे छ । केही मध्यम वर्गका आमाबाबुले शीर्षस्तरका स्कूलमा प्रवेश दिलाउन निजी शिक्षणमा बर्सेनी लाखौं रुपैयाँ खर्च गर्ने गरेका थिए ।

यो नीतिलाई चीनको नयाँ जनसंख्या नीतिसँग जोडेर लिने गरिएको छ । यो वर्ष चीनले दुई सन्तानको सीमा हटाइदिएको थियो । चीनमा धेरै शिशु जन्माउने उद्देश्यले यो प्रोत्साहन नीति ल्याइएको हो ।

 



प्रतिक्रिया दिनुहोस !